बिराटनगर,भदोै ६ गते । अत्तरिया । आर्थिक समृद्धि राज्यले बाँडेको सपना मात्र होइन, आधारभूत आवश्यकता पनि हो । चार विकास क्षेत्रसरह सुदूरपश्चिमले समान विकासको हिस्सा माग्नु अस्वाभाविक पनि होइन । तर, राज्य आफैंले विकासको सम्बोधन गर्न सक्दैन । समृद्धिको संवाहक निजीक्षेत्र हो । राज्यले निर्धारण गर्ने नीतिको परिधिमा रहेर निजीक्षेत्रले समृद्ध सुदूरपश्चिमको निर्माणका लागि रचनात्मक भूमिका निर्वाह गर्न सक्छ । समृद्ध सुदूरपश्चिमका नौओटै जिल्लाका उद्योग वाणिज्य सङ्घ विगत १० वर्षदेखि हातेमालो गर्दै आएका छन् । उनीहरूले समृद्ध सुदूरपश्चिमको अभियान नै चलाएका छन् ।
सुदूरपश्चिमका नौओटा जिल्लाको केन्द्रविन्दु अत्तरिया अहिलेसम्म राज्यको विकास एजेण्डाभित्र पर्न सकेको छैन । ‘राज्यले अत्तरियाकै लागि भनेर कुनै योजना ल्याएको हामीले सुनेका छैनौं’, अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त रोकायले भने । आर्थिक अभियान राष्ट्रिय दैनिक र अत्तरिया उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको ‘अत्तरियाको विकास, सम्भावना र चुनौती’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा सङ्घका अध्यक्ष रोकायले यहाँबाट प्रतिनिधित्व गर्ने सभाषद्, राजनीतिक दल, समाजसेवी, विकासप्रेमी, अर्थविद् तथा शिक्षाविद्हरूसँग हातेमालो गरेर अत्तरियाको विकासमा सहभागी भएका छौं ।
अत्तरियालाई नमूना शहरको रूपमा विकास गर्ने अभियानका साथ २०७० सालमा अत्तरिया उद्योग वाणिज्य सङ्घको गठन भएको हो । अत्तरिया नगरपालिकासँगसँगै गठित उद्योग वाणिज्य सङ्घले छोटो समयमै १ विगाह जमिन खरीद गरी ५ करोड रूपैयाँको लगानीमा सुविधासम्पन्न भवन निर्माणको कार्यसमेत शुरू गरिसकेको अध्यक्ष रोकायले जानकारी गराए । ‘जग निर्माणको काम हामीले सम्पन्न गरिसकेका छौं’, उनले भने ।
अत्तरियाका बासिन्दाको मुख्य पेशा व्यापार र कृषि हो । थोरै मात्र सरकारी सेवामा छन् । पशुपालन पनि यहाँका बासिन्दाको प्रचलित पेशा हो । राना, थारू र पहाडी समुदायको बसोबास रहेको अत्तरिया बहुसांस्कृतिक शहरका रूपमा स्थापित छ । कृषिउद्योगको ठूलो सम्भावना रहे पनि यहाँ अहिलेसम्म राज्यस्तरबाट लगानीमैत्री वातावरण बन्न नसकेकाले कृषिमा व्यावसायिकता ल्याउन नसकिएको रोकायले बताए । ‘हामीले अत्तरियाको विकासमा नयाँपन र दिगोपन ल्याउन २०६६ सालदेखि काम गर्दै आएका छौं । तर, यतिका वर्षसम्म अत्तरियाको गुरुयोजनासम्म बन्न नसकेकाले उचित रूपमा बजार व्यवस्थापन गर्न सकिएको छैन ।
राज्यले सुदूरपश्चिमको विकास भएको हेर्न चाहने हो भने हामीले विगत लामो समयदेखि उठाउँदै आएका छओटा माग सम्बोधन गर्नु आवश्यक छ । पहिलो लालपुर–श्रीपुरमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण, दोस्रो धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति, तेस्रो पश्चिम सेती, चौथो सुक्खा बन्दरगाह, पाँचौं सुदूरपश्चिमको पवित्र धार्मिकस्थल गोदावरीको विकास र छैटौं अत्तरिया बसपार्कलाई क्षेत्रीय बसपार्कको रूपमा स्तरोन्नति गर्न सक्ने हो भने अत्तरियाको मात्रै नभएर समग्र सुदूरपश्चिमको आर्थिक विकासमा कायापलट नै हुन्छ । यसका लागि यहाँको निजीक्षेत्र सरकारसँग हातेमालो गर्न तयार छ’, उनले भने । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि तथा अत्तरिया नगरपालिकाका कार्यकारी अधिकृत नारायणबहादुर विष्टले अत्तरिया क्षेत्रको चौतर्फी विकासका लागि गुरुयोजना पहिलो शर्त भएको बताए । उनले निजीक्षेत्रको सक्रियतामा नमूना शहरको रूपमा विकास हुँदै गएको अत्तरियालाई समृद्ध शहरको रूपमा परिणत गर्न गुरुयोजना बन्नु आवश्यक रहेको बताए । गाविसबाट एकैपटक नगरपालिका बनेकाले थोरै जनशक्तिमा धेरै काम गर्नुपरेको अधिकृत विष्टको भनाइ छ । अत्तरिया क्षेत्रमा आधा दर्जनको हाराहारीमा निर्यातयोग्य उद्योग खुले पनि नाका नभएका कारण थप उद्योगको विस्तार हुन नसकेको अत्तरिया उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नैनसिंह कार्कीले बताए । साबुन, ग्यास, बिस्कुट, खढी, खाद्य, सोडा तथा घर रङ्ग्याउने पेण्टलगायतका उद्योग अत्तरियामा सञ्चालनमा छन् । अत्तरियामा जुन गतिमा विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । बजार फराकिलो बनाउन चुनौती नै चुनौती भएको उपाध्यक्ष कार्कीले बताए । अत्तरियाको पूर्वपट्टि सशस्त्र प्रहरी, क्षेत्रीय ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय र सुकुम्बासी बस्ती छ, उत्तरतिर दुर्गा क्याम्पस र वनक्षेत्र तथा दक्षिणतर्फ खोटो कम्पनी र विद्युत् ग्रिड, जुन बीच बजारमा रहेकाले बजार विस्तार र सौन्दर्य बढाउन सकिएको छैन । वर्षमा एक/दुई पटक खोटो कम्पनीमा आगलागी भएकै हुन्छ, बीच बजारमा यस प्रकारको कम्पनी स्थापना हुनुले मानवीय तथा भौतिक क्षति जुनसुकै समयमा पनि हुन सक्ने भएकाले यसको व्यवस्थापन राज्यबाटै हुनुपर्ने कार्कीको भनाइ छ । झण्डै ६० प्रतिशत ऐलानी बस्ती भएकाले यसको व्यवस्थापनमा पनि चुनौती देखिएको छ ।
एक दर्जनको हाराहारीमा अत्तरियामा निजी विद्यालय तथा कलेज स्थापना भए पनि शिक्षामा अझै व्यावसायिकता ल्याउन नसकिएको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गिरिराज कडायतले बताए । अत्तरियाको मात्र नभएर समग्र सुदूरपश्चिमको शैक्षिक विकास र गुणस्तर वृद्धिमा राज्यले लगानी बढाउन नसकेको उनको गुनासो छ । यस क्षेत्रमा तत्काल १५ भन्दा बढी आङ्गिक क्याम्पसको आवश्यकता देखिए पनि राज्यस्तरबाट कुनै पहल नै नभएको भन्दै यहाँको शैक्षिकस्तर उकास्न शिक्षामा लगानी बढाउन माग गरे । आर्थिक अभियान राष्ट्रिय दैनिकले पहिलो पटक अत्तरियामा गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले अत्तरिया उद्योग वाणिज्य सङ्घले अत्तरियाको व्यवस्थित शहरीकरणका लागि जुन प्रकारले काम गर्दै आएको छ, त्यसमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । कला, संस्कृति, प्राकृतिक सम्पदा र हावापानीको दृष्टिकोणले अति उत्तम मानिने अत्तरियाक्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके सुनमा सुगन्ध हुने नगरवासीको भनाइ छ । कार्यक्रममा सहभागीहरूले ७ नम्बर प्रदेशको राजधानी अत्तरियालाई बनाउँदा नौओटै जिल्लाको विकास गर्न सहज हुने बताए । कैलाली, कञ्चनपुरका लागि मात्रै नभएर सात पहाडी जिल्लाका बासिन्दाका लागि समेत अत्तरिया एक मात्र पायक पर्ने स्थान भएकोमा जोड दिए । एशियाली विकास बैङ्क (एडीबी) ले अत्तरिया शहरलाई व्यवस्थित शहरको रूपमा विकास गर्न साढे २ अर्ब रूपैयाँमा सन् २०१७ देखि काम शुरू गरेर ५ वर्षभित्र सम्पन्न गर्न हालै अत्तरिया नगरपालिकासँग सम्झौता गरेको छ । शहरप्रति सबै आकर्षित हुन्छन्, शहरमा सानो क्षेत्रमा धेरै जनसङ्ख्या अटाउनुपर्छ । यसकारण अत्तरिया शहरलाई एकदम व्यवस्थित बनाउन एडीबीसँगसँगै नगरपालिका पनि अघि बढेको कार्यकारी अधिकृत विष्टले बताए । जुन गतिमा जनसङ्ख्या बढेको छ, त्योअनुसार लगानी बढेको छैन । यस कारण पनि नागरिकले शहरी सुन्दरताको अनुभूति गर्न नपाएको विष्टको भनाइ छ ।
कार्यक्रममा न्यु बिजनेश एज प्रालिका अध्यक्ष एवम् आर्थिक अभियान राष्ट्रिय दैनिकका प्रधानसम्पादक मदन लम्सालले सुदूरपश्चिममा लगानीयोग्य क्षेत्र धेरै भएकाले निजीक्षेत्रको लगानी बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिममा लगानीयोग्य क्षेत्रको चर्चा गर्दै बृहत् अन्तरक्रिया कार्यक्रममा प्रधानसम्पादक लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफूले उत्पादन गर्ने वस्तुको ब्राण्डिङ र लेबलिङ गरेर यहाँ उत्पादन भएको सामग्रीलाई विश्वबजारसम्म पुर्याउन सकिने बताए । सिमेण्ट, छड, तेल, औषधि उद्योग, कृषिमा आधारित उद्योगलगायत जुनसुकै उद्योगका लागि पनि सुदूरपश्चिम भर्जिन ल्याण्डको रूपमा आफूले पाएको उनले बताए। अनलाइन बाट,
२०७३/०५/६, अंक ५२,
Post a Comment