Websoft University

शहरी सौर्य ऊर्जा कार्यक्रम थप प्रभावकारी बनाउन सरकार लागिपरेको छ



बिराटनगर, भदोै ३१ गते । चालू आर्थिक वर्ष (आव) २०७३/७४ बाट शहरी सौर्य ऊर्जा कार्यक्रम थप प्रभावकारी बनाउन सरकार लागिपरेको छ । यसका लागि सरकारले सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशतसम्म दिने घोषणा गरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै वितरण गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, शहरी सौर्य ऊर्जा कार्यक्रमका प्रमुख अविनाश वरुणले जानकारी दिए । अघिल्लो आवको भन्दा यो आवको कार्यक्रममा धेरै व्यावहारिक पक्ष समेटिएकाले २५ सय सोलार वितरण गर्ने पनि उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा १५ हजार अनुदान पाउन ५ सय वाट क्षमताको सोलारका लागि २ लाख रुपैयाँभन्दा बढी लगानी गर्नुपथ्र्याे । यो वर्ष २ सय वाट क्षमताको सोलारका लागि ५० हजारदेखि ७५ हजार लगानी गर्दा २० हजार अनुदान पाउने व्यवस्था गरिएको छ ।
शहरी सौर्य ऊर्जा कार्यक्रम
शहरी सौर्य ऊर्जा कार्यक्रम सरकारले विद्युत् सेवा पुगेका ठाउँमा सौर्य ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरी लोडशेडिङ घटाउन सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याएको कार्यक्रम हो । यसमा सौर्य ऊर्जा जडान गर्दा लाग्ने खर्चमा २० हजार अनुदान दिने र कुल खर्चको ९० प्रतिशतसम्म कर्जा सापटी तथा ब्याजमा समेत ७५ प्रतिशतसम्म अनुदान दिने प्रावधान छ । घरायसी प्रयोजनका लागि ७५ प्रतिशत ब्याज तथा व्यावसायिक प्रयोजनमा ५० प्रतिशत ब्याज अनुदान पाइन्छ ।
कसरी पाइन्छ अनुदान ?
शहरी सौर्य ऊर्जा कार्यक्रमबाट अनुदान पाउन ग्राहकले कम्तीमा २ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । पहिले ५ सय वाट क्षमताको सोलार जडान गर्दा मात्र अनुदान पाइन्थ्यो । कर्जा लिन भने कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । व्यावसायिक प्रयोजनका लागि हो भने १ हजार ५ सय वाट क्षमताको सोलारमा मात्रै कर्जा सुविधा दिने कार्यक्रम प्रमुख वरुणले बताए । उनका अनुसार पहिले कर्जा १ सय वाट क्षमताको सोलार जडान गर्दा पनि अनुदान पाइन्थ्यो । त्यो प्रक्रिया झन्झटिलो भएकाले अहिले २ सय वाट क्षमताका लागि अनुदान दिइए पनि कर्जा भने ५ सय वाटभन्दा बढी क्षमताका लागि मात्रै दिने गरेको बताए । वैकल्पिक ऊर्जाकै परीक्षण विभाग (रेटस)ले परीक्षण गरी पास गरेका सामग्री मात्र व्यवसायीले विक्री गरी ग्राहकले पाउने अनुदानका लागि वैकल्पिक ऊर्जालाई सिफारिश गरिने बताइएको छ । ग्राहकले सरकारले तोकेका करीब ४ सय सोलार कम्पनीमध्ये जुनबाट सोलार उपकरण किने पनि उनीहरूले दिएको फर्म भरेर वैकल्पिक ऊर्जामापठाउनुपर्छ। त्यसपछि मात्र अनुदान दिइने व्यवस्था छ । यसका लागि खरीदकर्ता भने शहरी सौर्य ऊर्जा कार्यक्रम लागू भएको ठाउँ अर्थात् विद्युत् लाइन जडान गरेको व्यक्ति वा फर्म हुनैपर्छ ।   
कसरी लिने कर्जा ?
वैकल्पिक ऊर्जाले नेपाल इन्भेष्टमेण्ट बैङ्क, एनएमबी बैङ्क, सिद्धार्थ बैङ्क, हिमालय बैङ्क र सिभिल बैङ्कसँग कर्जाका लागि सम्झौता गरेको छ । यो कर्जा लिन सोलार जडान गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि बिजुलीको बिल तिरेको रसिद र आयस्रोत खुल्ने कागज पत्र पेश गर्नुपर्छ । त्यसपछि भने बैङ्कले आयस्रोतलाई मुख्य आधार मानेर विनाधितो आवश्यक रकमको ९० प्रतिशतसम्म कर्जा ३ साताभित्र उपलब्ध गराउँछन् । कर्जा दिने वा नदिने भन्ने निर्णय भने बैङ्कले नै गर्छन् । कर्जा लिन घरायसी प्रयोजनका लागि कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ भने व्यावसायिक प्रयोजनका लागि १५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ ।   
२ सय वाट भनेको कति हो ?
२ सय वाट क्षमता भन्नाले कम्तीमा एउटा टीभी ५ घण्टा, १० ओटा बत्ती ७ घण्टा, एउटा ल्यापटप ३ घण्टा र एउटा राउटर ८ घण्टासम्म चलाउन पुग्ने भन्ने हुन्छ । २ सय वाट क्षमताको सोलार प्रणालीका लागि कम्पनीअनुसार ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म पर्छ । यसरी जडान  गरे २० हजार अनुदान पाउँदा ५५ हजार रुपैयाँमा यी सबै सुविधा लिन सकिने कार्यक्रम प्रमुख अविनाशले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.