Websoft University

चाडवाड नजिकिदै गर्दा बजारमा सामानको भाउ मनपरि


बिराटनगर,भदोै २४ गते । चाडवाड नजिकिदै गर्दा पूर्व क्षेत्रका मुख्य–मुख्य व्यापारिक केन्द्रमा बजारभाउ मनपरी हुन थालेको छ । पसलैपिच्छे मूल्य फरक–फरक हुँदा पनि अनुगमन गर्ने निकायले कुनै वास्ता गरेका छैनन । छिटपुट अनुगमन गरिए पनि ती नाम मात्रका अनुगमन भएका छन ।
धनकुटामा सदरमुकामलगायत मुख्य व्यापारिक केन्द्रका कतिपय किराना पसलमा एउटै वस्तुमा मूल्य अत्यधिक फरक छ । चामल, दाल, तेल, चिउरा, मैदा, आँटालगायत वस्तुमा मनलागी मूल्य छ ।
एकै प्रकारको मन्सुली चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म फरक छ। विभिन्न प्रकारका मनसुली चामलमा २ हजार २ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म मूल्य छ। चिनी प्रतिकेजी ६५ देखि ८८ रुपैयाँसम्म किनबेच हुने गरेको छ। मुसुरो दालमा प्रतिकेजी १० रुपैयाँ फरक छ। उक्त दाल प्रतिकेजी डेढ सयदेखि १ सय ६० रुपैयाँमा बिक्री गरिन्छ। हरियो मटर प्रतिकेजी ६५ देखि ८० रुपैयाँ मूल्य छ। कालो दालमा पनि २० रुपैयाँसम्म मूल्य फरक छ । आँटाको मूल्य प्रतिकेजी ९ रुपैयाँसम्म फरक छ। अन्य उपभोग्य वस्तु पनि निकै फरक मूल्यमा किनबेच हुने गरेको छ। अधिकांश पसलमा मूल्य सूची छैन ।

वाणिज्य विभागले प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षक तथा बजार संरक्षण अधिकृतका रूपमा जिम्मेवारी दिने गरेको छ। तर, पछिल्लो एक वर्षमा जिल्लामा किराना पसलको अनुगमन नभएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईलेबताए। ‘अघिल्लो वर्षमात्र निरीक्षण भएको थियो,’ उनले भने, ‘यस वर्ष अनुगमन गर्न बाँकी छ ।

औषधि तथा मासु पसल अनुगमन कार्य गरिए पनि खाद्यान्न पसलको बाँकी रहेको उनले बताए। अधिकतम बिक्री मूल्य, खाद्य वस्तुको गुणस्तर, उपभोग्य मिति र खरिद मूल्यअनुसार उपयुक्त नाफा भए नभएकोबारे आफूहरू सजग हुने गरेको उनले जानकारी दिए। अनुगमन गर्न ढिलाइ भएको भने उनले स्वीकारे ।

उद्योग वाणिज्य संघले भने बजार अनुगमनलाई निरन्तरता दिएको दाबी गरेको छ। प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर अनुगमन कार्य जारी राखिएको संघका अध्यक्ष उमेश घिमिरेले बताए। ‘जिल्ला प्रशासन, नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकायसँग समन्वय गरेर अनुगमन गर्दै आएका छौं,’ घिमिरेले भने, ‘कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेले तत्काल कानुनी कारबाही भोग्नुपर्नेबारे सचेत पनि गराउँछौ् ।
व्यवसायीले भने पसल अनुगमन नियमित नहुने बताए। धनकुटा–४ स्थित हजुरको किराना पसलकी सञ्चालक दुर्गा भट्टराईले अनुगमनका लागि कहिल्यै कोही नआएको बताएकाथिए ।

दर्ता नगरी पसल सञ्चालन
संखुवासभाका मुख्य व्यापारिक केन्द्रमा दर्ता नगरी पसल सञ्चालनमा छन्। जिल्ला प्रशासन कार्यालयले पटक–पटक गरेको बजार अनुगमनका क्रममा मानेभन्ज्याङ, चैनपुर र तुम्लिङटारमा रहेका पसलहरू दर्ता्बिना सञ्चालन गरेको भेटिएको सहायक प्रजिअ मोहणमणि घिमिरेले बताए। उनका अनुसार अधिकांश होटलमा मदिराको लाइसेन्स नलिएको, पसलहरू कुनै निकायमा दर्ता नगरिएको र दैनिक उपभोग्य वस्तु र विषादी एकै स्थानमा राखिएको पाइएको छ। मानेभन्याङ, चैनपुर र तुम्लिङटारमा रहेका २ सयभन्दा बढी पसलमा मूल्य सूचीसमेत नभएको उनले बताए ।

‘कुनै पसलमा मूल्यसूची छैन,’ उनले भने, ‘आग्रह गरेका छौं, मूल्य सूची नराखे कडा कारबाही गर्छाैं।’ घिमिरेका अनुसार दर्ता नभएका पसललाई पनि साता दिनभित्र दर्ता गरिसक्न आग्रह गरिएको छ। मूल्य सूची नहुँदा मनपरी ढंगले दैनिक उपभोग्य सामग्री बेचबिखन भइरहेको अनुगमन समितिले जनाएको छ।

मानेभन्ज्याङ क्षेत्र उत्तरी हिमाली गाविसको प्रमुख व्यापारिक केन्द्र हो। यहाँबाट भोजपुरका केही गाविसमा दैनिक उपभोग्य सामग्री लगिन्छ। तुम्लिङटार दिङ्ला र आसपासका क्षेत्रको व्यापारिक केन्द्र मानिन्छ भने चैनपुर २ नम्बर क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा छ । घिमिरेका अनुसार केही साताअघि अनुगमन टोलीले चैनपुर बजारमा भेटिएको म्याद गुज्रिएका सामग्री नष्ट गरिएको थियो ।


सदरमुकाम खाँदबारीका १२ वटा थोक बिक्रेता पसल अनुगमनका क्रममा समितिले म्याद गुज्रेको सामग्री नियन्त्रणमा लिएको थियो। अधिकांश पसलमा म्याद गुज्रेको दैनिक उपभोग्य सामग्री पाइएको उनले बताए। अनुगमनका क्रममा किराना पसलबाट हर्लिक्स, बिस्कुट, वनस्पति घिउ, बेसन, बेसार, सुपारी, फिंगर चिप्स, चोकोस चकलेट र सफारी तोरीको तेल म्याद सकिएको भेटिएको थियो ।

ती सामग्री उद्योग वाणिज्यसँग र व्यापारीको उपस्थितिमा नस्ट गरिएको थियो।  अनलाइन बाट
२०७३/०५/२४,



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.