उदयपुर, २७ असोज । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने सुवास कटुवालले दशैंका बेलामा भाउजूको हत्या गरेर विष सेवन गरेका छन् । सुवास हाल अस्पतालमा छन् भने प्रहरीले मृतकका श्रीमानसहित परिवारका सबै सदस्यलाई नयन्त्रणमा लिएको छ ।
उदयपुरको बसाहा निवासी राजेन्द्र कटुवालकी श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिनअघि मोरङको सिजुवास्थित बेतौना जङ्गलमा हत्या भएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान राजेन्द्रसहित ६ जना परिवारका सदस्यलाई पक्राउ गरेको
हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार राजेन्द्रका भाइ सुवास तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका थिए । उनले चार दिनअघि भाउजू भीमकुमारीलाई फोन गरेर सिजुवा बोलाएका थिए ।
देवरलाई भेट्न पुगेकी भाउजूलाई सोही दिन जङ्गलमा लगेर हत्या गरेको प्रहरीको दाबी छ । भाउजूको हत्यापछि विष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको छ । भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्नता रहेको आरोप भीमकुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई अनुसन्धानका लागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
घटनामा अन्यको संलग्नता भए नभएको खुलिसकेको छैन । उता विष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजूको हत्या आफू एक्लैले गरेको प्रारिम्भक वयान दिएको प्रहरीको भनाइ छ ।
भीमकुमारीको हत्यामा को को संलग्न छन् भन्ने विषयमा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र चाँडै यसको वास्तविकता खुल्ने इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
Post a Comment