

दार्चुला, ३० असोज - दार्चुलामा महाकाली नदी एक छेउमा थुनिएको छ। भारतको धारचुला खोतिलमा सुक्खा पहिरो खसेपछि महाकाली नदी एक छेउमा थुनिएको हो।
नदी एक ठाउँमा थुनिएपनि नेपालबाट पानी निकास भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। तर अझैपनि पहिरो खसिरहेकाले नदीमा पानी सुक्दै गए दार्चुला सदरमुकामभन्दा तल खतरा हुने बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भएमात्र खतरा हुने जानकारी दिए। तर पनि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।
नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि निरन्तर निरीक्षण गरिरहेको छ। शनिबार नेपाल भारतको संयुक्त प्राविधिक टोलीले पहिरो र नदीको अनुमगन गरेको थियो।
आइतबार पनि थप अनुगमन गर्ने सेनाको तयारी छ। गएको १८ गते भारतमा पहिरो खसेपछि दार्चुलामा महाकाली नदी आशिंक रुपमा थुनिएको हो।
Post a Comment