विराटनगर,२९ असोज । पूर्वाञ्चलमा प्रत्येक बर्ष सडक दुर्घटनामा बृद्धि भइरहेको छ । दैनिक ४ देखि ६ वटा सामान्य एवं गम्भीर खालका सडक दुर्घटनामा कम्तिमा २ जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । जसमा ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण हुने गरेको छ ।
पूर्वाञ्चलमा पाँच वर्षको अवधीमा भएको ८ हजार एक सय ३० वटा सवारी दुघर्टनामा परी १ हजार ६ सय ६२ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । ६० प्रतिशत दुर्घटनाका कारणका रुपमा छाडा चौपाया रहेको देखिएको छ ।
मोरङ र झापाका स्थानीय जंगलमा छोडिएका छाडा चौपायाका कारण सडक दुर्घटना बढेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी उपरीक्षक पवनकुमार गिरी बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रत्येक वर्ष सवारी दुर्घटनामा २० देखि ३० प्रतिशत सर्वसाधारणले ज्यान गुमाउने गरेको देखिन्छ ।
मोरङको बेलबारीदेखि उर्लाबारी तथा झापाको दमकदेखि चारपाने क्षेत्रको सडकमा छाडा चौपायाका कारण बिहान र बेलुकाको समयमा सडक दुर्घटना बढी हुने गरेको छ । सडकमा जताततै छाडा चौपाया छाड्ने कारण सवारी गुडाउन पनि समस्या हुने सवारी चालक बताउँछन् ।
छाडा पशु चौपायाहरुको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र समेत दुर्गन्धित बन्दै गएको छ । छाडा पशुहरु चौबिसै घण्टा बथानका बथान आहारा खोज्दै बजारमा समेत आउँदा राजमार्गको साथै बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । बजारको सडक सुरक्षाका साथै फोहोर व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
पूर्वाञ्चलमा दैनिक ४ देखि ६ वटा ठुला सवारी दुर्घटनामा हुने गरेको छ । जसमा कम्तिमा ७ जनाको अंगभंग हुने गरेको छ । पूर्वाञ्चलमा कुल १ हजार २ सय ५६ किलोमिटर कालोपत्रे सडक, ३ हजार ५ सय ३३ किलो मिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलो मिटर ग्राभेल सडक रहेको इमेज च्यानलमा समाचार छ ।
पूर्वाञ्चलमा मेची, कोशी र सगरमाथा अञ्चल कार्यालयमा दर्ता भएका ३ लाख ८४ हजार ९ सय ६० सवारी साधान रहेका छन् भने अन्यत्र दर्ता गरिएका थप २ लाख सवारी साधन पूर्वाञ्चलका सडकमा गुड्ने गरेका छन् ।
छाडा चौपायाका कारण असुरक्षित बन्दै गएको सडकलाई सुरक्षित सडकका रुपमा प्रयोग गर्न छाडा चौपायालाई तत्काल नियन्त्रणको पहल गर्न जरुरी देखिन्छ ।
Post a Comment