इलाम, असोज २९ । इलामको दानाबारीबाट महमाई जानेक्रममा हिजो दिउँसो माइखोलास्थित चण्डालघाटमा डुबेको डुंगामा हराइरहेकाहरूको आज बिहानैदेखि पुनः खोजी थालिएको छ ।
गएराति १० बजेदेखि उद्धार र खोजी स्थगित गरिएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिहान ६ बजेदेखि सशस्त्र प्रहरीका ७, नेपाली सेनाका ६ जना तथा नेपाल प्रहरीको टोली बेपत्ताको खोजी र उद्धार खटिसकेको बताउनुभयो । दसैंको टीका लगाउन आउ–जाउ गर्ने यात्रु बोकेको डुंगा हिजो दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा ५ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये गएरातिसम्म ४ जनाको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तर, घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मोरङ मधुमल्ला–२ की पुष्पा खड्काको पनि शव फेला परेको जानकारी दिनुभयो । प्रहरीले भने एक बालकको शव भेटिएपनि नामथर खुल्न नसकेको जनाएको छ ।
दानाबारीका अगुवा ध्रुव श्रेष्ठले डुंगा डुबेको स्थानभन्दा केही तल माई र गरुवाखोलाको दोभानमा जसबहादुर र डम्बरमायाको शव भेटिएको बताउनुभयो । पवित्रा, हर्कबहादुर र १ बालकको शव अझै तल चेप्टी भन्ने स्थानमा फेला परेका थिए । हिजोसम्म २० महिला र १४ पुरुषको उद्धार गरिएको थियो । प्रहरी समाचार,
Post a Comment