काठमाडौ, १ मंसिर । आज पाँचौं राष्ट्रिय कर दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने नाराका साथ पाँचौ कर दिवस मनाइन लागिएको हो ।
दिवसका अवसरमा बिहान काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग परिसरबाट पुतलीसडकस्थित नेपाल प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरि गरिंदैछ । प्रभातफेरि पछि प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीले उत्कृष्ट करदातालाई सम्मान गर्नेलगायत अरु कार्यक्रम पनि हुने विभागले जनाएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन भएकाले प्रत्येक वर्षको मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको बताउनुभयो ।
विभागले देशको विभिन्न ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । गतवर्ष ४ सय ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष पाँचसय ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
Post a Comment