उदयपुर मंसिर ३गते ।
उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् । पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्दै आएको चौदण्डी गाबिस सचिव जयन्द्र पाण्डेले बताउनुभएको
छ ।
चौदण्डीगढी क्षेत्रमा सडक पुगेको र महत्वपूर्ण ऐतिहासिक पर्यटकियस्थल बनिरहेको बेला सो क्षेत्रमा जग्गाको मूल्यसमेत बढ्दै गएको छ । तर यता गढीक्षेत्रका आसपासका जग्गा भने स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्ने र घर निर्माणसमेत गरेर बस्न थालेको सचिव पाण्डेले बताउनुभयो। गढीक्षेत्रको जग्गा अतिक्रमण भएपछि पटक–पटक आफूहरुले स्थानीयवासीलाई गढी परिसर र आसपासका अतिक्रमित जग्गा छाड्न अनुरोध गरे तापनि स्थानीयवासीले अटेरी गरेर घर नै निर्माणसमेत गरेको सचिव पाण्डेले बताउनुभयो ।
चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधार तीव्ररुपमा अगाडि बढ्दै गएपछि जग्गाको अभावमा उक्त क्षेत्रमा धेरै भौतिक निर्माणका कार्य गर्नसमेत समस्या हुन थालेको गढी पर्यटन विकास समितिका अध्यक्ष तामाङको भनाइ छ । गढीको अतिक्रमण भएको जग्गा समयमा नै कानुनी वा अन्य प्रक्रियाबाट व्यवस्थापन नगरे भविष्यमा झनै जग्गा व्यवस्थापनमा समस्या आउने सरोकारवालासमेत बताएका छन ।
Post a Comment