विराटनगर पुस ९ गते ।
सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।
विराटनगरस्थित शहिद रङ्गशालामा शनिबार भएको कराते प्रतियोगिता अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
उनले काठमाण्डौमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए । ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे । यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए ।
Post a Comment