विराटनगर, पुस ३ गते ।
पूर्वाञ्चलमा पुस–८ गतेदेखि साताव्यापी हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद– २०७३को पूर्वाधार निर्माणको कार्यक्रम सम्पन्न भइसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सातौं राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरमा राष्ट्रपति विद्या भण्डारीले पुस–८ गते गर्नुहुने निश्चित भइसकेको जानकारी गराउनुभयो ।
सातौं राष्ट्रिय खेलकुदमा विभिन्न ३५ प्रकारका खेल समावेश गरिएको छ । त्यसमध्ये ट्रायथलन पोखरामा शारीरिक सुगठन तथा पौंडी ललितपुरको सातदोबाटोमा र एथलेटिक्समा समावेश पुरुष÷महिलाको विभिन्न ४० स्पर्धामध्ये पुरुष÷महिलाको म्याराथन विराटनगरमा सम्पन्न भइसकेका छन् ।
३० खेलको प्रतिस्पर्धामध्ये स्क्वार ललितपुरमा,फेन्सिङ काठमाडौंमा र लनटेनिस पोखरामा खेलाइने छ भने २७ खेलहरु झापा,सुनसरी,मोरङ,सिरहा,सप्तरी,धनकुटा र उदयपुर हुने कुरा सो अवसरमा जानकारी गराइयो ।
उक्त प्रतियोगितामा क्षेत्रीय छनोटमार्फत चार हजार ३१० र प्रत्यक्ष सहभागितातर्फ एक हजार ५३९ गरी पाँच हजार ८४९ खेलाडीहरु भाग लिने छन् । यसका साथै एक हजार १६१ क्षेत्रीय छनोटमार्फत र ५०८ प्रत्यक्ष गरी एक हजार ६६९ महिला खेलाडीहरुको पनि सहभागिता रहने बताइएको छ ।
सातौं राष्ट्रिय खेलकुदमा २९४ स्वर्ण,२९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । रासस
Post a Comment