काठमाडौं पुस १०गते । सामुदायिक विद्यालयमा प्राविधिक धार सुरु भए पनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न पूर्वाधार व्यवस्थापन नगर्दा विद्यार्थी सैद्धान्तिक कक्षा मात्रै लिन बाध्य छन् । सरकारले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति दिए पनि बजेट नदिँदा विद्यार्थी सैद्धान्तिक कक्षामात्र सीमित हुनुपरेको हो ।
शिक्षा विभागले चालु शैक्षिक सत्रदेखि प्राविधिक विषय अध्ययन गराउन अनुमति दिएका मोरङका ७ र कैलालीका २ विद्यालयमा विद्यार्थीले प्रयोगात्मकबिना सैद्धान्तिक मात्रै अध्यययन गरिरहेका छन् । मोरङको महेन्द्र र पोखरिया माविले कम्प्युटर इन्जिनियरिङ, जनसेवा र राधिकाले कृषि, पञ्चायतले सिभिल इन्जिनियरिङ, जनता र सत्यनारायणले कक्षा ९ मा इलेक्ट्रोनिक विषय अध्ययन गराउने अनुमति पाएर कक्षा सुरु गरेका थिए । विभागले कैलालीको कर्णाली मावि र धनगढी माविमा पूर्वाधार तयारी गर्न बजेट दिएको छैन । सप्तरी र नवलपरासीका प्राविधिक विषय पढाउने विद्यालयले पूर्ण बजेट पाउन सकेका छैनन् । विभागका अनुसार शिक्षा कार्यालयकै लापरबाहीले प्राविधिक विषय पढाउने विद्यालयमा प्रयोगात्मक सामान किन्न निकासा गरेकोमध्ये करिब ५ करोड रुपैयाँ फ्रिज भएको छ ।
Post a Comment