चितवन, माघ १४ गते । रातो तारा डट कम -
दुर्लभ वन्यजन्तु अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी पोष्टबाट बिहीबार भाले र पोथी गैडा चितवन ल्याइएसँगै चितवन आउने पर्यटकले अर्ना देख्न पाउने भएका छन् ।
शुक्रबार दिउँसो निकुञ्जको पूर्वी सेक्टर पदमुरमा एक भव्य समारोहकाबीच अर्नालाई वनमन्त्री शंकर भण्डारीले सार्वजनिक गर्ने छन् ।
चितवन ल्याएको अर्नालाई शुक्रबार बाजागाजासहित स्वागत गर्ने तयारी गरिएको छ । मध्यवर्ती क्षेत्र समिति, क्षेत्रीय होटल संघलगायतका संस्थाहरुले शुक्रबार बाजागाजासहित अर्नाको स्वागत गर्ने तयारी पूरा भएको क्षेत्रीय होटल संघका सदस्य जीत बहादुर तामाङ्गले जानकारी दिए । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरबाट अर्नालाई निकुञ्जमा विविध साँस्कृतिक प्रहसनसहित भित्रयाउन लगिएको उनले बताए ।
कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम शाहले चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँललाई अर्ना हस्तान्तरण गरेका थिए । बुधबार नियन्त्रणमा लिइएको अर्ध बयस्क पोथी र बिहीबार नियन्त्रणमा लिइएको भाले अर्ना ५ वर्षको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट क्रमश अरु अर्नाहरु पनि चितवन ल्याइने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
अर्नाको ल्याइसकेपछि शुक्लाफाँटा आरक्षबाट बाह्रसिंगे ल्याउने तयारी भएको विभागले जनाएको छ । कोशीमा अहिले ४ सय ३२ अर्ना छन् । पाँच भालेसहित २० वटा अर्ना कोशीबाट चितवन ल्याउने तयारी गरिएको छ ।
Post a Comment