तेह्रथुम, माघ २०गते ।२०७३, रातो तारा डट कम -
तेह्रथुमकै पहिलो ठूलो आयोजनाको रुपमा निर्माण हुन लागेको खोरुंगाखोला जलविद्युत आयोजनाको शिलान्यास भएको छ ।
७.५ मेगावाट क्षमताको आयोजनाको सभासद भवानीप्रसाद खापुङले बुधबार आयोजनास्थल मोराहाङ–४ स्थित खोरुंगा खोला घाटमै पुगेर शिलान्यास गर्नुभयो ।
शिलान्याससँगै आयोजनाको काम समेत सुरु गरिएको प्रवर्द्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । आयोजनाको शिलान्यास गर्दै सभासद खापुङले आयोजना निर्माणले जिल्लालाई लोडसेडिङमुक्त बनाउनुका साथै आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व जिविस सभापति किशोरचन्द्र दुलाल र राजनीतिक दलहरुको तर्फबाट संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष देवनारायण सम्बाहाम्फेले आयोजना निर्माणकोलागि शुभकामना दिनुभएको थियो ।
यस्तै तेह्रथुम पावर कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठ र कार्यकारी निर्देशक मोहनकुमार डाँगीले आयोजनाको बारेमा स्थानीय बासिन्दालाई जानकारी गराउनुभयो ।
निकै तामझामका साथ भएको शिलान्यास कार्यक्रममा पूजापछि प्रसाद ग्रहण र भोज समेत गराइएको थियो । जिल्लास्थित कम्पनीका शेयरकर्ता, राजनीतिक दल, शुभेच्छुक र उद्योगी व्यापारीहरु तथा सन्चारकर्मीसहितको टोली आयोजना स्थल पुगेको थियो ।
आयोजना प्रभावित क्षेत्रका मोराहाङ, श्रीजुङ, आम्बुङ र ओयाक्जुङ गाविसका झण्डै डेढ सय बढी सहभागी थिए । नेपाल विद्युत प्राधिकरण र तेह्रथुम पावर कम्पनीबिच गएको मंसिर १ गते विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भएको थियो । पिपिए भएको तीन महिनापछि आयोजनाको शिलान्यास गर्दै प्राविधिक सर्वे समेत थालेको कम्पनीले अबको ३३ महिनाभित्र निर्माणको काम सक्ने बताएको छ ।
तीन वर्षमा निर्माण सक्नेगरी भएको सम्झौतामा आयोजनामा उत्पादित बिजुली प्राधिकरणले हिउँदमा युनिटको ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने उल्लेख छ । आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनको तेह्रथुम वितरण केन्द्रस्थित ट्रान्समिटरमा जडान गरिनेछ ।
आयोजनाको निर्माण तीन वर्षभित्र अर्थात २०७६ मंसिरभित्र सक्ने लक्ष्य राखी काम भइरहेको कम्पनीका प्रबन्धक निर्देशक मोहनकुमार डाँगीले बताउनुभयो । उहाँका अनुसार कुल १ अर्ब ३७ करोडको लगानीमा बन्ने आयोजनामा माच्छापुच्छ्रे बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंकले १ अर्ब लगानी गर्नेछन् ।
Post a Comment