काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।
दिवङ्गत एवम् संघर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ मंगलबार अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान दिन जोड दिनुभयो ।
निर्वाचनको सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै उहाँले निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पु¥याएको छ । निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिकालगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन् ।
सञ्चारमाध्यमको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले गर्नुपर्ने मुख्य कामको विवरण दिन सञ्चारका अगुवालाई आग्रह गर्नुभयो ।
यस अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगतमा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक छ भन्नुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताउनुभयो ।
स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गर्नुभएको हो । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ ।
Post a Comment