Websoft University

कुलमानजीलाई प्रमुख बनाउँदा ठूलो संघर्ष गर्नुपर्‍यो : प्रधानमन्त्री


काठमाडौं, माघ २०  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोलखाको खिम्तीमा पुगेर बिहीबार २ सय २० केभीको खिम्ती ढल्केबर प्रसारण लाइनको उद्घाटन गर्दै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउँदा आफूले ठूलो संघर्ष गुर्नपरेको बताउनुभएको छ ।

‘कुलमानजीलाई कार्यकारी निर्देशक बनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सही जिम्मा दिँदा ठूलो उपलब्धि हुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता देखायो भने ठूलै काम हुँदो रहेछ’ उहाँले भन्नुभयो ।

उहाँले आफूले आर्थिक क्रान्तिको सपना देखेको पनि बताउनुभएको छ । ‘मैले आर्थिक क्रान्तिको सपना देखेको छु । राजनीतिक एकता कायम गर्न सक्यौं भने हामीले आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्छौं । त्यसका लागि राजनीतिक तहमा नयाँ संकल्प आवश्यक छ, म सबैमा अपील गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।
के के भने प्रधानमन्त्रीले ?

- नेपालकै पहिलो २ सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४ सय केभी प्रसारण लाइन अघि बढिरहेको छ । तर २ सय २० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो ।

- विकास आयोजनाहरु समयमा पूरा नहुनु निकै दुःखलाग्दो विषय हो । निहित स्वार्थवश कतिपय आयोजनाहरु जानीबुझी ढिलो गराइने गरेका छन्, यसलाई बदल्न हामी सबैले संकल्प गरौं ।

- म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा जाने गरेको छु । योपटक सबै क्षेत्रमा पुगेर समयभन्दा अगाडि नै आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु ।

- समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं ।

- जलविद्युत् र उर्जा क्षेत्रमा नेपालको प्रचुर सम्भावना छ । जनार्दनजीलाई उहाँको क्षमता देखेर नै उर्जा मन्त्रालयको जिम्मा दिएको हुँ ।

- प्रसारण लाइनको अभावमा थुप्रै आयोजना रोकिएका वा सम्भाव्यता अध्ययन नै नभएका हाम्रा अनुभव छन् । विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार हो । प्रकृतिले हामीलाई ठूलै बरदान नै दिएको छ । विद्युतीकरणले नेपालको भविष्यमै कायापलट ल्याउन सक्छ ।

- विद्युत उत्पादन गरे त्यसको खपत् नेपालमै हुन्छ । विद्युतको बजार छैन भनेर उत्पादनमा ध्यान नदिने सोंच परम्परावादी र रुढीवादी सोंच हो, अझ हजारौं मेघावट विद्युत् नेपालमै खपत हुन सक्छ ।

- आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । आजको बैठकबाट निर्वाचन आयोगलाई निर्वाचनको कार्यक्रम अगाडि बढाउन आग्रह गरिनेछ, यसले राजनीतिक गतिरोध र अन्यौल हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

- बिखण्डनवादी शक्तिसामू सरकार चुप लागेर बस्दैन । नेपालको स्वाभिमानमाथि कुनै खालको सम्झौता हुँदैन, त्यसका विरुद्ध सरकार कठोर भएर उभिनेछ । हाम्रो राष्ट्रिय र भावनात्मक एकतालाई कसैले कमजोर पार्न सक्ने छैन ।

- संविधान एक गतिशील दस्तावेज हो । यसलाई संशोधन गर्दै, परिमार्जन गर्दै सबैको स्वीकार्यता बढाएर अघि बढ्नुपर्छ, यसको बिकल्प छैन । तर, एकथरि शक्तिहरु उज्यालो मन पराउँदैनन्, परिवर्तन मन पराउँदैनन्, उनीहरु अध्याँरोमै षड्यन्त्र गर्न रुचाउँछन् । तर, सरकारलाई त्यो मान्य छैन ।

- राष्ट्रिय एकताको परिभाषा सधैं एउटै हुँदैन । सामन्ती कालमा व्याख्या गरिएको राष्ट्रवाद गणतन्त्रको युगमा पनि उस्तै हुँदैन । गणतन्त्रको युगमा समावेशी लोकतन्त्र नै वास्तविक राष्ट्रवाद हो, राज्यमा सबैको समान सहभागिताको व्यवस्था गर्नु नै राष्ट्रिय स्वाभिमान हो, राष्ट्रिय एकता हो ।

- लोडसेडिङ अन्त्य गर्न, विद्युत क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तयार छ । म सधैं जनार्दनजी र कुलमानजीको साथमा छु । तपाई‌हरुलाई कहाँ अप्ठ्यारो पर्छ भन्नुस्, म सबै सहयोगका लागि हरदम तयार छु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.