Websoft University

नेकपा एमालेले ‘सन्देशसभा’ नाम दिएर सुर्खेतमा आमसभा गर्‍यो




सुर्खेत- काठमाडौं चैत ५ गते । रातो तारा डट कम,
मेची महाकाली राष्ट्रिय अभियानको औपचारिक समापन गरेका भोलिपल्ट नेकपा एमालेले ‘सन्देशसभा’ नाम दिएर सुर्खेतमा आमसभा गर्‍यो । सभामा एमालेका शीर्ष नेता जसरी प्रस्तुत भए, त्यसको सार के थियो भने प्रदेश नम्बर ६ एमालेका कारण बनेको हो । एमालेका जिल्ला र क्षेत्रका नेतादेखि शीर्ष नेतासम्मले सुर्खेतको सभामा ६ नम्बर प्रदेश निर्माणको श्रेय लिन कुनै कसर बाँकी राखेनन् ।


मेची महाकाली अभियानका क्रममा साना ठूला गरेर २६ ओटा सभा गरेको एमालेले शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा निकालेको जुलुस र सभा ती सबैभन्दा ठूलो थियो । किनकी ६ नम्बर प्रदेशको राजधानी घोषणा मात्र हुन बाँकी रहेको सुर्खेतको सभामा भाग लिन कणर्ालीका एमाले कार्यकर्ता समेत बस रिजर्भ गरेर झरेका थिए ।

सुर्खेतको सभा अपेक्षा गरेको भन्दा विशाल भएपछि उत्साहित बनेका एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताहरुले प्रदेश नम्बर ६ एमालेको कारण सम्भव भएकाले आगामी चुनावमा विजयको हकदार पनि एमालेनै हुनुपर्ने जिकिर गरे ।

प्रदेश नम्बर ६ बन्नुअघि सुर्खेत र जुम्लामा ठूला आन्दोलन भएका थिए, जसको अगुवाई गर्ने मध्ये एक एमाले पोलिटव्यूरो सदस्य यमलाल कँडेलले थिए । सुर्खेतलाई राजधानी बनाउने गरी भएको आन्दोलन पनि थियो त्यो । त्यसैले शनिबार एमालेको सभामा सुर्खेत सदरमुकामका व्यापारी र सर्वसाधारण पनि ओइरिए ।

एमालेले यो मौकालाई चुनाव प्रचारको शैलीमा उपयोग गर्दै ६ नम्बर प्रदेशको विकासका लागि एमालेसँग योजना रहेको नेताहरुले बताए । पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले सभालाई सम्बोधन गर्दै भने, ‘यो प्रदेश एमालेले लडेर बनाएको हो, यसको विकास गर्ने खाका पनि एमालेसँग मात्रै रहेकाले आउने तीनओटै चुनावमा एमालेलाई भोट दिनुभएन भने यो प्रदेश सबैभन्दा पनि कमजोर हुनेछ । 

जसले प्रदेशको परिकल्पना गरेको हो, उसैले मात्र यसको विकास गर्छ ।’शुक्रबार बेलुकासम्म नेपालगञ्जको स्नेहा होटलमा आराम गरिरहँदा एमाले अध्यक्ष ओली सुर्खेतको सभामा जाने नजाने निश्चित थिएन । तर, आयोजकहरुलेसभा अहिलेसम्मकै ठूलो हुने र प्रदेश स्थापनाको लागि भएको आन्दोलनका सहभागी सबै आउने भन्दै ओलीलाई सुर्खेत आउन दबाव दिए ।

नभन्दै सुर्खेतमा एमालेले ६ नम्बर प्रदेशको सबै पार्टी पंक्ति परिचालन गरेर वृहत शक्ति प्रदर्शन गर्‍यो । सुर्खेतका सडक चोकहरुबाट आ-आफ्ना झाँकी सहित जुलुसहरु निस्किए ।
एमालेले सुर्खेतको शक्ति प्रदर्शनलाई वृहत बनाउन जिल्लाका बिभिन्न गाउँ गाउँबाट सर्वसाधारणलाई सदरमुकाममा उतारेको थियो । सभामा सहभागी हुन दैलेख, कालिकोट, जाजरकोट, सल्यानदेखिका एमाले कार्यकर्ता र समर्थक सुर्खेत सदरमुकाममा झरे ।

एमालेका प्रदेशस्तरीय नेताहरुले यो सभा र जनप्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका थिए । विशाल सहभागिताबाट उत्साहित भएका अध्यक्ष ओली, बरिष्ठ नेता नेपाल र महासचिव ईश्वर पोखरेलले ६ नम्बर प्रदेश सीमांकनको श्रेय लिन कुनै कन्जुस्याइ गरेनन् ।

त्रिपक्षीय टक्करको प्रदेश
एमालेले सुर्खेतको शक्ति प्रदर्शन मार्फत ६ नम्बर प्रदेशमा आफ्नो बर्चश्व देखाउन खोजे पनि यो प्रदेश नै यस्तो प्रदेश हो, जहाँ तीन ठूला दल कांग्रेस, एमाले र माओवादी लगभग त्रिपक्षीय प्रतिस्पर्धामै छन् । सातओटा प्रदेशमध्ये माओवादीेले आशा गरेको प्रदेश पनि यहि नै हो । किनकी यो प्रदेशमा माओवादी जनयुद्धकालका आधार क्षेत्रहरु पनि पर्छन् ।

२०७० सालको चुनावी परिणाम हेर्दा ६ नम्बर प्रदेशमा ६ सिट जितेर कांग्रेस पहिलो शक्तिका रुपमा छन् । एमालेले ५ सिट जितेर कांग्रेसको हाराभरी शक्तिका रुपमा दोस्रो स्थान पाएको छ भने माओवादीले पनि ४ सिट सुरक्षित गरेर त्रिपक्षीय प्रतिस्पर्धी शक्तिका रुपमा रहेको छ ।

कांग्रेसले सुर्खेतका तीन ओटै सिट जितेको छ । तीनै सिटमा दोस्रो भएको एमालेलाई त्यस चुनावमा बागी उम्मेदवारले करीव ५ हजार मत कटाएर धक्का दिएका थिए । त्यस्तै कांग्रेसले जाजरकोट, हुम्ला र जुम्लामा एक एक सिट जितेको छ ।

एमालेले दैलेखका दुवै सिट जित्नुका साथै सल्यान, मुगु र डोल्पाका एकएक सिट जितेको छ । माओवादीले रुकुमका दुवै सिट जिते पनि प्रदेश विभाजनमा रुकुमको २ नम्बर क्षेत्रमात्र ६ नम्बर प्रदेशमा परेको छ । त्यस्तै माओवादीले जाजरकोट, सल्यान र कालिकोटका एकएक सिट जितेको 
छ ।

यो प्रदेशबाट कुनै पनि पार्टीका शीर्ष तहका नेता छैनन् । कांग्रेसका पूर्णवहादुर खड्का, जीवनवहादुर शाही नै ठूला नेता हुन् । एमालेका प्रकाश ज्वाला, यमलाल कडेलभन्दा माथिका स्थानीय नेता छैनन् । त्यस्तै माओवादीका जनार्दन शर्मा, शक्ति बस्नेत जस्ता नेता छन् ।

ओलीका आश्वासनः चुनाव केन्द्रित

६ नम्बर प्रदेशमा सुर्खेत र दैलेखमा जसले पकड राख्यो, त्यसले अग्रता लिने अवस्था छ । किनकी दुबै जिल्ला निर्वाचन क्षेत्र पुनर्निर्धारण हुँदा पनि अहिलेकै अवस्थामा रहनेछन् । अरु सबै जिल्ला एक-एक क्षेत्रमा खुम्चिनेछन् ।
सायद यहि भएर होला, शनिबारको वृहत सभामा एमालेका नेताहरुले सुर्खेतको जनमत आफ्नो पक्षमा तान्न कांग्रेसमाथि तीब्र प्रहार गरे ।

सुर्खेतको पूर्वाधार विकासका लागि अध्यक्ष ओली आफैंले ठूल्ठूला आश्वासन समेत दिए । मध्यपश्चिम विश्वविद्यालय स्थापनादेखि चार लेन सडकको जस समेत आफैंले लिँदै यो प्रदेशकेा विकासका धेरै सपना देखाए । उनले हुम्ला गाडीबाट जाने अवस्था बनाउनेदेखि ताक्लाकोटसम्म जाने बाटो जोड्ने चुनावी आश्वासन समेत दिए ।

ओलीले कर्णालीको विकास कसरी गर्ने भन्ने सपना पनि 
सुनाए । उनले ६ नम्बर प्रदेशको विकास सम्बन्धी एमालेको अवधारणा पुस्तक बिमोचन गरेर यो प्रदेशको अपनत्व लिन हरसम्भव प्रयास गरेका छन् ।

एमालेका लागि ६ नम्बर प्रदेशमा जित्न कांग्रेसलाई सुर्खेतबाट खुम्च्याउनै पर्ने बाध्यता छ । यदि उसले अहिले जितेका जिल्ला कायम गर्दै सुर्खेतमा कांग्रेसको सिट खोस्न सक्यो भने यो प्रदेशका एक नम्बर शक्ति बन्न सक्छ । त्यसैले एमाले नेताहरुले सुर्खेतको प्रदर्शन तथा जनसभा कांग्रेसविरुद्ध केन्द्रित गरेको बुझ्न सकिन्छ ।

साथसाथै माओवादीलाई अहिलेको शक्तिमै रोक्ने वा अझै खुम्च्याउने रणनीति पनि एमालेको देखिन्छ । यो प्रदेश खस आर्यहरुको बहुमत रहेको क्षेत्र हो । nepali news bat

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.