बिराटनगर,चैत १० गते । रातो तारा डट कम,
हिजो राती पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीस्थित जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
तीन पुरूष र एक महिलाको मृत्यु भएको
छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार घटनामा मोरङ लेटाङ–३ का मोटरसाइकल चालक तिलक लिम्बू र मोटरसाइकलमा सवार देवेन्द्र लिम्बु तथा बसमा सवार झापाका पुरुषोत्तम सुवेदी एक जना महिलाको मृत्यू भएको
छ । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा राखिएको छ ।
गम्भीर घाइते केरौन मोरङका शंकर विक रहेका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार कांकडभिट्टाबाट बुटवल जाँदै गरेको मुक्तिनाथ डिलक्सको अगाडिको टायर पड्किएर दुर्घटना भएको हो ।
टायर पड्किएर अनियन्त्रित भएको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिई सडकको उत्तरतर्फ पल्टिएको थियो । घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोरोबारी झापाका रोषन मण्डल, सतन इम्बू, सुनिता टुडु, सतुवा हैमरन, गौरीगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिष भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायणप्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन् ।
Post a Comment