बिराटनगर, फागुन १८ गते । रातो तारा डट कम-
यातायात व्यवस्था विभागले २० वर्ष पुराना सवारीसाधनलाई आजदेखि काठमाडौंका सडकमा गुड्न पूर्ण रुपमा बन्देज लगाएको छ।
यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीको नविकरण, दर्ता र कर लिने सबै प्रक्रिया यसअघि नै रोक्का गरिसकेको छ। आजदेखि सडकमा गुड्न नदिने विषयलाई कडा रुपमा कार्यान्वयन गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए।
पाण्डेले आजदेखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना गाडी सडकमा नहुने र देखिएमा कारबाही हुने बताए।
उपत्यकामा २० वर्ष पुराना सवारी साधनको संख्या करिब दुई हजार पाँच सयको हाराहारीमा रहेका छन्। बन्देजपछि ति २५ सय बढी सवारीसाधन थन्किएका छन्। ‘यदी २० वर्षअघिका पुराना गाडी अब सडकमा निकाले कानुनी प्रक्रियाअनुसार कारबाही गर्दछौँ’ उनले भने।
यसका लागि विभागले ट्राफिक प्रहरीलाई निर्देशन दिइसकेको छ। उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा)का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो पूर्णरुपमा बन्द गरिने उनको भनाइ छ।
यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन आज बिहानबाट अनुगमन सुरु गरेको छ।
Post a Comment