विराटनगर,फागुन २२ गते । रातो तारा डट कम,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैपनि हालतमा निर्वाचन स्थगित नहुने स्पष्ट पार्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा बृद्धि गरेपछि मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गनुृभयो ।
स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेशमा केही सङ्ख्यामा बृद्धि हुने जानकारी गराउनुभयो ।
प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनका लागि तत्कालनै संशोधन आवश्यक नरहेको बताउनुभयो ।
मधेशको समस्या समाधानका लागि सरकार गम्भीर रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको भविष्य,राजनीतिक स्थिरताका लागि मधेश पहाड र हिमाललाई मिलाएर मधेशी र थारुको मागलाई सम्बोधन
गर्न सरकार दृढरहेको स्पष्ट पार्नुभयो ।
संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरुबीच समझदारी गराएर सो प्रस्ताव पारित गराउने आफ्नो सोचाई रहेको जानकारी गराउनुभयो ।
उहाँले सरकारले विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाएको, विद्युतीय भार कटौंतिलगायत फास्ट ट्रयाक निर्माणलगायतका कामलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।
नेकपा(एमाले)को मेची–महाकाली अभियानलाई सरकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वको अवस्था सृजना हुन नदिन र मोर्चालाई वातावरणलाई सहजीकरणतर्फ अग्रसर हुन सुझाव दिनुभयो ।
कुनैपनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु नहुने,एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीतिरहेको भन्नुहुँदै उहाँले अप्रिय घटना हुन नदिन सरकार गम्भीर रहेको बताउनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले सरकार परिवर्तनको चर्चा हावा मात्र हो भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने स्पष्ट पार्नुभयो ।
Post a Comment