
विराटनगर, २ चैत । कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा ल्याएर व्यापारिक प्रयोजनमा लगाउने गरिएका ट्रयाक्टरमाथि मोरङमा कारवाही सुरु गरिएको ।
त्यस्ता ट्रयाक्टरमाथि ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको हो । प्रयोजन विपरितका ट्रयाक्टरमाथिको कारवाहीलाई तीव्र पारिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक मदन गिरीले बताउनु भयो ।
कृषि प्रयोजनका लागि भनेर कर छुटमा ल्याइएका ट्रयाक्टरको दुरुपयोग बढेपछि कारवाही सुरु गरिएको उहाँले बताउनु भयो। सरकारले भन्सार महशुल र भ्याट छुटमा आयात गर्न दिएको कृषियन्त्र ‘ट्रयाक्टर’ कृषिको काममा भन्दा पनि ढुवानी र व्यापारमा प्रयोग गर्ने क्रम मोरङमा बढेको छ ।
कृषियन्त्रको सूचीमा राखेर ट्रयाक्टर आयात गर्दा पाँच प्रतिशत मात्र भन्सार शुल्क बुझाउनु पर्छ । १३ प्रतिशत भ्याट पनि तिर्नु पर्दैन । किसानको नाममा सुविधाका लागि दिइएको यति धेरै छुटको दुरुपयोग गर्दै ट्रयाक्टर व्यापारिक प्रयोजनमा लगाउने गरिएको हो । प्रहरी निरीक्षक गिरीका अनुसार दुई साताको अवधिमा मात्र मोरङ भरी प्रयोजन विपरितका चार सय ट्रयाक्टरलाई कारवाही गरिएको छ ।
उहाँका अनुसार प्रयोजन विपरित प्रयोग गरिएको महल अनुसार कारवाही गरिएको हो । त्यस्ता ट्रयाक्टरलाई ट्राफिक प्रहरीले पहिलो पटक पाँच सय रुपैयाँ र त्यही क्रम दोहो¥याएमा एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ ।
Post a Comment