मोहन भट्टराई- मोरङ,पथरी,वैशाख ६ गते। रातो तारा डट कम,सूचना तथा सञ्चार मन्त्री राम कार्कीले सिंहदरवार धाएर देशको विकास सम्भव नरहेको बताउनु भएको छ ।
आज बुधबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र नगर कमिटिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले जनताको हातमा आएको अधिकारलाई सही रुपमा सदुप्रयोग गरी लोकप्रिय हुन सबैलाई आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले स्थानीय तह निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गर्दै तोकिएकै मितिमा सम्पन्न हुने दावी गर्नुभयो।
मन्त्री कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनु भएको छ । मुलुक अहिले संक्रमणकालकाबीच गुज्रिरहेको बताउँदै उहाँले दुईवटा मूल्यमान्यता र सोंचहरु तीव्र संघर्ष गरिहेकोले पत्रकारले त्यसलाई बाहिर ल्याइदिनुपर्ने बताउनु भयो । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता नहुने उहाँको भनाई छ ।
जनताले सडक बनाइदिनु प¥यो मन्त्री ज्यू भन्दै आउनुहुन्छ, मन्त्रीले सडक बनाउने हो ? उहाँले प्रश्न गर्नुभयो । लोकप्रियताका लागि हुन्छ भन्दै आश्वसन दिने खालको मन्त्री आफू नभएको र जनताका समस्या समाधान गर्न सम्बन्धित निकायमा पहलकदमीका साथै अनुगमन गर्ने उहाँले बताताउनु भयो ।
मन्त्री कार्कीले सरकारले जनमुखी कार्यक्रम ल्याएको र कार्यान्वयनको चरणमा भएकोले नागरिकलाई निरास नहुन आग्रह गर्नुभएको छ । चाँडै नै नेपालले आफ्नो छुट्टै भू–उपग्रह स्थापना गर्ने तयारी भइरहेको जानकारी दिंदै सरकारले धेरै जनमुखी काम गरेको दावी गर्दै कृषी, उर्जालगायतका क्षेत्रमा राम्रा काम भइरहेको बताउनु भयो ।
उहाँले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउनु भएको छ । वर्तमान सरकारले विद्युतभार कटौतीको अन्त्य गरेको, राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
Post a Comment