इलाम,चैत २२ गते। रातो तारा डट कम,
मोफसलका ५ भेटमा ४ नतिजा आफ्नो हात पारेको सिएमजी संकटा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग आज इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछ ।
व्यक्तिगत रूपमा नेपालकै ‘सेलिब्रेटी’ विमल घर्ती मगरसहित मैदान उत्रिन लागेको संकटालाई एपिएफ सामना गर्नु ‘जटिल नभएपनि’ खेलाडीबीचको तालमेल चुनौतीपूर्ण हुनेछ ।
इलामको ठूलो टुँडिखेलमा पहिलोपटक उत्रिन लागेको संकटा र चिरपरिचित एफिएफ क्लबबीच दिउँसो साढे २ बजे खेल सुरु हुनेछ । विशु अधिकारीको कप्तानीमा संकटाले चर्चित स्ट्राइकर विमलसहित विक्रम लामा, अनन्त तामाङ, विशाल श्रेष्ठलगायतलाई मैदान उतार्ने टिम म्यानेजर राजेश तुलाधरले बताउनुभयो ।
काँकडभिट्टा गोल्डकपमा संकटालाई सेमिफाइनलमा पराजित गरेको एपिएफका लागि आजको भेट भने ‘निकै प्रतिस्पर्धात्मक’ साबित हुनेछ । मिलन राईको कप्तानीमा नवीन लामा, राजेन्द्र रावल, रमेश दंगाललगायतलाई प्रतिस्पर्धामा उतार्न लागेको एपिएफका प्रशिक्षक कुमार थापाले संकटासँग हार र जितकै इतिहास रहेकाले आफूहरू जित्ने योजनासाथ उत्रिन लागेको बताउनुभयो ।
यसअघिका भेटमा संकटाले सिमरा, बूढासुब्बा, नेपालगञ्जलगायत गोल्डकपमा एपिएफलाई पराजित गरेको थियो । काँकडभिट्टा गोल्डकपमा भने एपिएफले संकटालाई सेमिफाइनलमा हराएको थियो ।
आजको खेलपछि माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुनेछ । आजको विजेताले आउँदो २४ गते रमपम झापा–११ सँग सेमिफाइनल खेल्नेछ । झापा–११, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । पुलिस र आर्मीबीचको पहिलो सेमिफाइनल भोलि हुनेछ ।
Post a Comment