काठमाडौँ, वैशाख ८ गते । रातो तारा डट कम -दिगो विकासका लागि नैतिक तथा सिर्जनशील युवा नेतृत्व विकाससम्बन्धी एकदिने युवा सम्मेलन सम्पन्न भएको छ ।
ग्लोवल पिस फाउन्डेसन नेपालको आयोजनामा आज भएको उक्त सम्मेलनमा गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, पानी र सरसफाइ, शन्ति र सुरक्षा, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले देश विकासका लागि आउने बजेटमा युवा लक्षित कार्यक्रम तथा नीति ल्याउनु जरुरी रहेको बताउनुभयो। उहाँले योजना तर्जुमामा युवाको भूमिका कम भएकाले युवा कार्यक्रम सञ्चालन हुन नसकेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउनका लागि अनुुुसन्धान तथा अविस्कारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले देशमा उत्पादन भएको जनशक्ति विदेशिएको भन्दै स्वदेशमै राम्रो अवसर प्रदान गरेमात्र विदेशीने युवाको सङ्ख्यामा कमी आउने स्पष्ट पार्नुभयो ।
फाउन्डेसनका अध्यक्ष इञ्जिनियर रामरोहन पन्तले दिगो विकासको लक्ष्यलाई पुरा गर्न लागि सत्र बुँदामध्ये कुनै एउटा बुँदालाई आत्मासात् गरी त्यसलाई व्यवहारमा उतारेमात्र सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले दिगो विकासको लक्ष्यलाई परिपूर्ति गर्न लागि युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, फिलिपिन्स, रोमानिया, चीन, अमेरिका, मलेसिया, मेक्सिकोलगायत देशका १५० युवाको सहभागिता रहेको थियो ।
Post a Comment