रोशन पोखरेल- विराटनगर, चैत २१ गते। रातो तारा डट कम,
मोरङका सीमावर्ती क्षेत्रमा हुने गरेका दैनिक उपभोग्य सामग्री लगायत अन्य वस्तुको तस्करीमा मोरङका प्रमुख जिल्ला अधिकारी सिडिओ यज्ञराज कोइरालाले चासो व्यक्त गर्नु भएको छ ।
कोइराला सीमावर्ती क्षेत्रको निगरानीमा आफै खटिने गर्नु हुन्छ।त्यहाँको गतिविधी बुझ्नका लागि राष्ट्रिय अनुसन्धानको छुट्टै टोली पनि परिचालन गरिएको छ । सिडिओ कोइरालाले तस्करी नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर सीमावर्ती क्षेत्रमा खटिने नेपाल तथा सशस्त्र प्रहरी प्रमुखहरुसंग छुट्टै बैठक समेत राख्नु भएको छ ।
बैठकमा कुनै प्रहरीले तस्करीमा संलग्नलाई सहयोग गरेको पाइएमा तत्काल कारवाही गरिने चेतावनी समेत उहाँले दिनु भयो । उहाँले तस्करीमा सुरक्षा निकायकै सहयोग रहने गरेको गुनासो आएको भन्दै तस्करी गर्ने जोसुकैलाई तत्काल कारवाहीको दायरामा ल्याइने बताउनु भयो ।
स्थानीय निकाय निर्वाचन नजिकिंदै गएकाले त्यसतर्फ सुरक्षा निकाय केन्द्रीत हुँदा सीमा क्षेत्रबाट तस्करी फस्टाउन सक्ने भएकाले कडाई थालिएको उहाँले बताउनु भयो । दुबै सुरक्षा निकायलाई तस्करी नियन्त्रणतर्फ गम्भीर हुने प्रजिअ कोइरालाले बताउनु भयो ।
भारतसंग सीमा जोडिएका मोरङका एक दर्जन नाकामा २४ घण्टानै ठूलो संख्यामा तस्करी नियन्त्रण गर्नका लागि परिचालित सशस्त्र र नेपाल प्रहरीसंग समन्वय गर्ने हिसावमा राष्ट्रिय अनुसन्धानको विशेष टोली समेत खटाइएको कोइरालाले बताउनु भयो ।
विशेष गरेर भारतबाट नेपालतर्फ लागूऔषध, साना हतियार, कपडा, चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामग्री, गाडीको पार्टपूर्जा तथा नेपालबाट भारततर्फ सुन, स्याउ, कम्प्युटरका पार्टपूर्जा, सुपारी, गिट्टी, बालुवा, ढुँगा लगायत तस्करी हुने गरेको छ ।
कोइरालाले तस्करी नियन्त्रणका लागि स्थानीय प्रशासन, नागरिक समाज, उद्योगी व्यवसायी, पेशाकर्मी सबैसंग समन्वय गर्ने काम भइरहेको बताउनु भयो ।
Post a Comment