बिराटनगर,बैशाख,१९ गते । रातो तारा डट कम,सुडानको डार्फरमा पठाइएका प्रहरी सामग्री खरिदमा अनियमितता गरेको भन्ने बहुचर्चित सुडान घोटालामा सर्वोच्च अदालतको फैसला आउँदै थियो।
त्यो फैसलाअघि नै सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे भन्ने हल्ला चल्यो। सरकारका यी दुई प्रमुख दलका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भयो। यसले सर्वोच्चको माहोलै बद्लियो।
'यो न्यायपालिकाका लागि राम्रो घटना होइन,' अदालतमा परिसरमा वकिलहरुको टीकाटिप्पणी सुनियो। संयोग नै हो, प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी फैसलालाई लिएर महाअभियोग सामना गर्न गइरहेकी कार्कीले आफ्नो न्यायिक करिअरको सम्भवत: अन्तिम फैसलामा सुडान घोटालाका तीन पूर्व आइजिपीलाई जेल पठाउने आदेश दिइन्।
प्रधानन्याधीश कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले तीन पूर्व आइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला गर्यो। त्यसको केही बेरमै सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको गाडी देखा पर्यो। पछाडि सिटमा बसेकी कार्कीको अनुहारमा उस्तै दृढता थियो, जस्तो सधैं देखिने गर्छ।
महाअभियोग प्रस्तावको सन्दर्भमा म उनको प्रतिक्रिया लिन इच्छुक थिएँ। उनलाई तारन्तार फोन लगाइरहेँ। उनले सधैंझैं फोन उठाइनन्। उनी मिडियासँग झ्याम्मिएर आफ्ना कुरा राखिहाल्ने स्वभावकी छैनन्। एक घन्टासम्म लगातार कोशिस गर्दा पनि फोन नउठेपछि म बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको गेटमा पुगेँ। सुरक्षाकर्मीहरुमार्फत् सन्देश पठाएँ। उनले बल्ल बोलाइन्। कार्की ठूलो बैठक कोठाको सोफामा बसेकी थिइन्।
ढुक्कै देखिन्थिन्। अनलाइनमा आएका समाचार मोबाइलमै हेरिरहेकी थिइन्। उनी हाँसेर मलाई बस्न भनिन्। 'तपाईंलाई महाअभियोगै लगाए त?' मैले सोधेँ। 'मलाई त अस्तिदेखि नै थाहा थियो,' उनी मुसुक्क हाँसिन्। माओवादी सांसद रामनारायण बिडारीले अस्तिदेखि नै उनलाई महाअभियोग लाग्दैछ भन्ने खबर सुनाएका रहेछन्। 'माओवादीले कांग्रेसको दबाब झेल्न सकेन भन्ने उहाँको कुरा छ। मलाई विश्वास छैन, यो दुवै दलले मिलेर गरेका हुन्।
मैले त फोनमा उहाँसँग भनेकै थिएँ लगाए लगाउन् भनेर,' उनले भनिहालिन्, 'बिहान प्रचण्डजीको बोलावट लिएर वर्षमान पुन आउनुभएको रहेछ, मैले भेटिनँ।' त्यही बेला पुनले प्रधानमन्त्रीबाट महाअभियोगका सम्बन्धमा कुराकानी गर्न खोजेको सन्देश पनि दिएका रहेछन्। यस्तो सन्देश सुनेर पनि उनी न दाहाललाई भेट्न गइन् न त सन्देशवाहकलाई नै भेटिन्।
अविचलित उनी सधैंझैं अदालत गइन्। सुडान काण्डको निर्णय सुनुवाइको दिन पहिल्यै तोकिएको थियो। १२ बजेतिर उनी र न्यायाधीश श्रेष्ठले फैसलामा हस्ताक्षर गरे। त्यसबाहेक पनि उनले तीनवटा फैसला गरिन्। उनी सर्वोच्चमा फैसला गरिरहेकै बेला संसदमा उनीविरुद्ध महाअभियोग दर्ता भएको थियो।
'उहाँहरुले खराब आचरण भनेर महाअभियोग लगाउनुभएको छ,' बालुवाटारस्थित निवासमा उनले भनिन्, 'त्यो उहाँहरुले नै पुष्टि गर्नुपर्छ। मैले केही गलत काम गरेकी छैन त्यसैले डराएकी पनि छैन।' मुलुककै पहिलो महिला प्रधानन्यायाधीशको इतिहास बनाएकी कार्कीले महाअभियोग झेल्ने पहिलो प्रधानन्यायाधीश पनि हुनुपर्यो। अदालतमा उनको विरोध गर्नेहरु धेरै छन्।
गलत काम गर्ने न्यायाधीशलाई पनि उनी प्रमाण भेटेसम्म छाड्दिनन्। तर, उनका आलोचकहरु पनि कार्कीको निष्ठा र इमानमा प्रश्न उठाउन सक्दैनन्। 'तपाईंलाई आइजिपी नियुक्तिसम्बन्धी विवादमा निष्पक्ष हुनुभएन भन्ने आरोप छ नि?' 'हामीले कानुन र सरकारले नै पठाएको प्रमाण (कार्यसम्पादन मूल्यांकन) हेरेर फैसला गरेका हौं। फैसला संसदको विचाराधीन भैसक्यो थप नबोलौँ। हामीले त अदालतमा आइपुगेका मुद्दामा बोल्ने हो। यो मुद्दा ल्याउ त्यो नल्याउ भन्ने कुरा भएन।
तर सरकार आफैं निष्पक्ष भएन,' उनले जवाफ दिइन्। मैले डिआइजी नवराज सिलवाललाई उनले भेटेको हल्लाबारे सोधेँ। 'त्यो फोटो बनाइएको होला, नभए त उनी यहाँ आएकासम्म छैनन् मैले भेट्ने त कुरै भएन,' उनले भनिन्। कुराकानीकै क्रममा उनले जेठ २४ गते अवकाश पाउँदासम्म सर्वोच्चमा विचाराधीन ठूला भ्रष्टाचारसम्बन्धी मुद्दामा फैसला गरेर जाने धोको रहेको पनि सुनाइन्। भनिन्, 'ती मुद्दामा न्याय गर्न पाइएन, म जसरी पनि एक महिनापछि जाने नै थिएँ।' कांग्रेसका केही नेताहरुको भ्रष्टाचार मुद्दा सर्वोच्चमा वर्षौंदेखि झुलिरहेका छन्।
माओवादीको स्वार्थमा भएका केही जग्गा विवादहरु पनि सर्वोच्चको दैलोमा आइपुगेका छन्। माओवादीले द्वन्द्वकालमा गरेका हत्यामा कार्कीसहितको इजलासले निर्णय सुनाएको छ। यी दुवै दलको सरकारले मिलेमतोमा गरेको आइजिपी नियुक्ति बदर कार्कीकै इजलासबाट भएको थियो।
उनले एकछिन गमेर फेरि भनिन्, 'मलाई त केही छैन, गुनासो पनि छैन। बाँकी जीवन आनन्दले बिताउँछु। न्यायलयमाथि भने यो ठूलो प्रहार भो।' कुराकानीपछि मैले फोटोका लागि आग्रह गरेँ। उनी तयार भैहालिन्। सहकर्मी अनिश रेग्मीले क्यामरा तेर्साएपछि उनले सोधिन्, 'हाँस्नुपर्छ?' 'तपाईं हाँसी नै रहनुभएको त छ नि, त्यस्तै खिच्ने,' मैले भनेँ। उनी बीचबीचमा मोबाइल स्क्रोल गरिरहेकी थिइन्। फोन बजेका बज्यै थिए। घरि उनकै फोन त घरि उनका श्रीमान दुर्गा सुवेदीको।
चार वर्षअघि पुरानो र साधारण गाडीभित्र साधारण सारीमा मैले पहिलोपटक उनलाई सर्वोच्च परिसरमा देखेकी थिएँ। सर्वोच्चमा महिला न्यायाधीश उनी मात्रै थिइन्। बहालवाला मन्त्रीलाई भ्रष्टाचारी ठहरेर जेल पठाउने साहस भएकी न्यायाधीश भनेर मैले चिनेकी थिएँ। यी चार वर्ष उनले उस्तै साधारण भेषमा निर्भीक व्यक्तित्व लिएर न्यायालयको बागडोर सम्हालिन्।
आज महाअभियोग प्रस्ताव दर्ता हुँदा पनि उनको निर्भीक व्यक्तित्व कत्ति डगमगाएको देखिएन। 'महाअभियोग दर्ता भयो भन्दैमा डराएर बस्दिनँ। जमेर महाअभियोगको सामना गर्छु,' उनले भनिन्। सेतो पाटी बाट
Post a Comment