फोटो फाएलबाट-
तेह्रथुम, जेठ ३ गते । रातो तारा डट कम-तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा दलित समुदायका पुख्र्यौली पेशालाई आधुनिकीकरण गर्ने उदेश्यले एक महिने तालिम सुरु भएको छ । पुस्तौँदेखि दलित समुदायले गर्दै आएका सिलाईकटाई, सुनचाँदी छिलाई र छाला जुत्ता बनाउने सीपलाई आधुनिकीकरण तथा व्यवसायीकरणकालागि तालिमको आयोजना गरिएको हो ।
तालिममा म्याङलुङ्ग नगरपालिका क्षेत्रभित्रका ६६ जना दलित युवाहरु सहभागी भएका छन् । सो तालिम नगरपालिकाको सहयोगमा दलित समन्वय समितिको आयोजना तथा नेपाल सुनचाँदी कला व्यवसायी समाजको सहजीकरणमा चलिरहेको छ । तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले दलित समुदाय पुस्तौँदेखि शिल्पी र मेहिनेतीको रुपमा परिचित रहेको भन्दै आना पेशालाई आधुनिकीकरण गरेर जिविकोपार्जनलाई सुधार गर्न लाग्नुपर्ने बताए ।
उनले दलित समुदायका अधिकारहरु संवैधानिक रुपमा स्थापित भइसकेको भएपनि दलित समुदायको आनै सक्रियता नहुँदा कार्यान्वयन हुन नसकिरहेको धारणा राखे । कार्यक्रममा दलित सचेतना समाज नेपालका कार्यक्रम निर्देशक कुमार विशंखेले नगरपालिका कार्यालयलाई दलित समुदायको क्षमता अभिवृद्धि तथा शशक्तिकरण तर्फका कार्यक्रमहरुमा समेत लगानी गर्न सुझाव दिए ।
यस्तै नवज्योति दलित समुहका अध्यक्ष भोला दास, सुनचाँदी कला व्यवसायी समाजका पुर्वअध्यक्ष भीम रसाइली र नेपाल पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश धौलाकोटीले पनि दलित समुदायका पुख्र्यौली पेशाको आधुनिकीकरणको जरुरी रहेको भन्दै त्यसतर्फ राज्यले पनि ध्यान दिनुपर्ने माग गरे ।
कार्यक्रममा पत्रकार कृष्ण विदुखी गौतम र सहकारीकर्मी धनराज शिवाले पनि तालिममा सहभागीलाई सक्रिय सहभागिताकालागि शुभकामना दिए । कार्यक्रम नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष आकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा समन्वय समितिका सचिव बाबुराम नेपालीले स्वागत मन्तव्य राखेका थिए भने सुनचाँदी व्यवसायी समाजका महासचिव रमेश घिमिरेले कार्यक्रम सन्चालन गरेका थिए ।
Post a Comment