बिराटनगर बैशाख २० गते । रातो तारा डट कम-विवाहमा मानिसहरु बेहुलीलाई विभिन्न खालका उपहारहरु दिन्छन् ।
तर भारतको मध्यप्रदेशमा भएको एक सामुहिक विवाहमा चाहीँ एउटा अनौठो उपहार चर्चाको विषय बनेको छ ।
मध्यप्रदेश सरकारले केही दिन पहिले सामुहिक विवाह कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब एक हजार जोडीले लगन गाँठो कँसे । सामुहिक विवाहमा त्यहाँका एक राज्यमन्त्री पनि सहभागी भए ।
ती मन्त्रीले त्यस बखत सबै नव विवाहिता बेहुलीहरुलाई उपहारको रुपमा ब्याट प्रदान गरेपछि सबै अचम्ममा परे । मन्त्रीले झण्डै १० हजार गोटा ब्याट वितरण गरे ।
मन्त्रीले बेहुलीहरुलाई ब्याट उपहार दिएको अर्थ कसैले बुझ्न नसकेपछि मन्त्री आफैले ब्याट उपहार दिनुका पछाडिको रहसय खोले ।
मन्त्रीका अनुसार गाउँ गाउँमा महिलामाथि हुने घरेलु हिंसा ठूलो समस्याको रुपमा रहेको छ । बेहु्लीले उपहारमा पाएको ब्याटलाई आफुमाथिको हिंसाको प्रतिरोधमा प्रयोग गर्नेछन् ।
मन्त्री भार्गवका अनुसार जब लोग्ने रातमा रक्सी पिएर घरमा आई पत्नीमाथि कुटपिट गर्ने प्रयास गर्नेछ तब पत्नीले बिहेमा पाएका सोही ब्याट हातमा लिई अत्याचारी लोग्नेमाथि प्रहार गरी आत्मरक्षा गर्नेछिन् ।
वास्तवमा लोग्नेलाई सबक सिकाउन र उसलाई सुधार्नका लागि यो ब्याट काम आउनेछ । कुटपिट गर्ने लोग्नेलाई उसकै भाषामा जवाफ दिनुपर्ने भन्दै मन्त्री भार्गवले घरमा ब्याट भएमा कुनैपनि पत्नीहरु लोग्नेसँग डराउनु नपर्ने बताए ।
महिलाले चुपचाप अन्याय सहेमा अत्याचारी लोग्नेहरुको मनोबल बढ्ने हुँदा महिलाहरुले कडाईका साथ आत्मरक्षा गर्नुपर्ने मन्त्रीले सुझाएका छन् ।एजेन्सी
Post a Comment