Websoft University

किरात धर्मालम्वीहरुको उभौली पर्व आज देखि सुरु


विराटनगर बैशाख २७ गते । रातो तारा डट कम-प्रकृति र पितृको पूजा गरी बुधबार(आज) देखि किरात धर्मालम्वीहरुले किराँत समुदायको ठूलो चाड साकेला उभौली पर्व सुरु भएको छ ।


किराँत समूदायले अन्न बाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी, किरा फट्याङ्ग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् ।

परम्परा अनुसार लिम्बुले चासोक तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल ष्यादर र राईले उभौली साकेला भनेर आज देखी संयुक्त रुपमा मनाउने गरिन्छ ।

किरात समुदायकोे मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन वर्षमा दुई पल्ट मनाउने गरिन्छ ।

पर्वको अबसरमा आज विराटनगर १५ मा रहेको साकेला थानमा किरात राई यायोक्खा नगर कार्य समिती विराटनगरले उभौलीको अबसरमा विशेष कार्यक्रम आयोजना गरी चण्डी नाच गर्ने किरात राई यायोक्खा नगर कार्य समितीका अध्यक्ष मोहन राईले जानकारी दिए ।

यसपर्वमा राई जातिहरुले आफ्नो परम्परा अनुसार जातिय भेषभुषामा सजिएर गोलो घेरा बनाइ ढोल र झ्याम्टा बजाउँदै साकेला अर्थात चण्डि नाच नाच्ने गर्छन् ।

मानवको जन्मदेखि मृत्यु सम्मका र हरेक पशु तथा पक्षीको कृयाकलापलाई नक्कल गर्दै साकेला नाच्ने गरिन्छ । आफ्ना श्रृष्टिकर्ता पारुहाङ र सुम्निमालाई खुसी पार्न किराँत राईहरुले यो पर्व मनाउने गरेको सुरेन्द्र राईले बताए ।

साकेला थानमा आज विशेष युवायुवतीको जमघट भई एक आपसमा हात समाई चण्डी नाचेको देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.