फलेवास (पर्वत) जेठ २० गते । रातो तारा डट कम,फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ ।
धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
विसं २०४८ मा धौलागिरि क्षेत्रमा सडक सुविधा आएपछि उक्त स्थान ओझेलमा परेको थियो । त्यसअघि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दाले पोखरा, बुटबल, स्याङ्जा र काठमाडाैं लगायत स्थानमा जानका लागि सोही पदमार्गको प्रयोग गर्दै आएका थिए ।
सोही पदमार्ग हुँदै पैदल वा खच्चरमार्फत सामान आयात हुने गरेको स्थानीयवासीको भनाइ छ । झन्डै दुई किमी लामो उक्त पदमार्ग निर्माणपछि यस क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई हिँडडुलका लागि सहज हुने भएको छ । आगामी एक वर्षभित्र उक्त पदमार्ग बनाउने लक्ष्य लिइएको छ ।
Post a Comment