काठमाडौं,असार १० गते । रातो तारा डट कम, हिजो शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी दिइयो । इमर्जेन्सी ल्याण्ड गर्नपर्ने भन्दै नजिकैको दमकल, अस्पताल, सेना र प्रहरीलाई पनि सबैलाई खबर गरियो ।
४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा एकाएक आगोको मूस्लो निस्कियो । लहरै दमकल आए, दमकलका पछिपछि तीन चारवटा एम्बुलेन्स पनि पछि लाग्दै थिए ।
सेना प्रहरी सबै जना हतार हतार उद्दारमा खटिए ।
एकैछिनमा हेलिकोप्टर पनि आयो । थिमी नगरपालिकाको एम्बुलेन्ससहित घटनास्थलमा ५ वटा एम्बुलेन्स जम्मा पारेर आगो निभाइयो ।
‘घाइतेहरु’ ऐया ऐया गर्दै थिए । सेना प्रहरी सबै घाइतेहरुको उद्धार गर्न व्यस्त थिए । चिकित्सक तथा नर्सहरु पनि इर्मेजेन्सी उपचारमा खटिए । केहीलाई उपचारका लागि हेलिकोप्टर मार्फत ग्रान्डी अस्पताल पुर्याइयो ।
करिब आधा घन्टा विमानस्थलको उडान पनि प्रभावित भयो । यति ठूलो भयाबह दृश्य देख्दा पनि पत्रकारहरु भने कुनै हतारोमा थिएनन् । किनकि यो वास्तविक दुर्घटना नभई त्रिभुवन विमानस्थलमा भएको एक नाटकिय अभ्यास मात्रै थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायका अनुसार प्रत्येक दुई वर्षमा यसखालको अभ्यास गर्नुपर्दछ । दुर्घटना हुँदा के कसरी उद्दार गर्ने भनेर यो अभ्यास गरिन्छ । यसलाई ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ भनिन्छ, जुन अन्तर्राष्ट्रिय मान्यताप्राप्त बिमानस्थलले प्रत्येक दुई वर्षमा गर्नुपर्छ ।
Post a Comment