झापा-दमक, असार १८ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका–१ र २ का परिणाम सार्वजनिक भएको
छ । आज बिहान सम्पन्न वडाको मत परिणामअनुसार दमक–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र दमक–२ मा एमालेले जित हासिल गरेका हुन् ।
निर्वाचन अधिकृत वेदप्रसाद फुयाँलका अनुसार दमक–१ मा ७ मतान्तरले राप्रपाका ताराप्रसाद अधिकारी विजयी हुनुभएको छ । दुई दिनअघि सम्पन्न वडाको परिणाममा एमाले र राप्रपाको ८०१ बरारबरी मत आएको भन्दै पुनः गणना भएको थियो । त्यस वडाको परिणाम राप्रपा, काँग्रेस, माओवादीले निष्पक्ष नभएको भन्दै वडाको मतगणना पुनः गर्न माग गरेका थिए ।
राप्रपाबाहेक अन्य वडा सदस्यहरुमा भने सबै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरि न्यौपानेले ८०० मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, दमक–२ मा एमालेका प्रजापति सापकोटासहित प्यानलै विजयी भएको छ । बिहान ४ बजे सार्वजनिक भएको वडाको नतिजाअनुसार सापकोटाले एक हजार १५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । प्यानल नै निर्वाचित त्यस वडाको सदस्यहरुमा टङ्क गौतम, राजु धिमाल, भक्तादेवी दाहाल र चन्द्रकला विक विजयी हुनुभएको छ ।
यसैबीच, दमकको जारी मतगणनामा अहिले बिहानसम्म एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार रोमनाथ ओलीले एक हजार ८७५ मत ल्याउँदै आफनो अग्रता राखेका हुन् । त्यस्तै, राप्रपाका राम थापाले एक हजार ५०२ र माओवादी केन्द्रका गगन पुरीले एक हजार ३२७ मत ल्याउनुभएको छ ।
Post a Comment