बिराटनगर साउन ७ गते । रातो तारा डट कम,भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न हुने या नहुने बहस कूटनीतिक संयन्त्रमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका केही अधिकारीले वर्तमान समयमा दुवै छिमेकमा भ्रमण गर्ने विषयमा गम्भीर विचारविमर्श गर्नुपर्ने औंल्याएका छन् ।
प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्यसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको तयारी पनि छ । भारत र चीन आमने सामने भएको यो समयमा दुवै मुलुकको भ्रमण त्यो तहबाट गर्न हुन्छ या हुँदैन भन्ने विषयमा कूटनीतिक निष्कर्ष आउन सकेको छैन ।
भारत र चीन सीमा विवादलाई लिएर ‘वाकयुद्ध’ गरिरहेको अवस्थामा भ्रमण गर्न उचित हुन्छ या हुदैन भन्ने विषय बहसमा आएको हो । भुटानसँगको चीनको सीमाको विषयमा सुरु भएको विवादमा भारत समेत मिसिएपछि अहिले भारत–चीन सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
भुटान र चीनको दुईपक्षीय मामिलामा भारत प्रवेश गरेपछि यो अवस्था आएको बताइएको छ । दोक्लम क्षेत्रमा सडक निर्माणको विषयमा भुटान चीनबीच विवाद भएको र भारतीय सेना त्यो क्षेत्रमा पुगेपछि सेना नहटेसम्म चीनले बार्ता नै नगर्ने बताएपछि समस्या बढो छ । दुवै तर्फका सेनाहरु सीमामा तैनाथ छन कान्तिपुरमा खबर छ।
सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा नेपालले दूत पठाएर आफ्नो तटस्थता स्पष्ट पारेको थियो । त्यसबेला दुवै मुलुकले नेपालमा आफ्ना दूतहरु पठाएर आफ्नो पक्षमा नेपाललाई तान्न खोजेका थिए । तर, नेपाल तटस्थ बसेको थियो । त्यसबेला नेपालको कूटनीतिक चातुर्यको प्रशंसा भएको थियो । अहिले पनि परम्परावादी भ्रमण सोचलाई थाति राखेर नेपालले त्यही प्रकारको कूटनीतिक चार्तुयता देखाउन पर्ने सुझाव एकथरीको छ । प्रधानमन्त्री देउवा असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचन अगावै भारत जानेगरि तयारी अघि बढेको छ ।
पूर्व राजदूत सुन्दरनाथ भट्टराई यो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमण हँुदा अर्को छिमेकीले कुन अर्थ लगाउँछ भन्ने कुरा सरकारले सोच्नु पर्ने बताउछन् । ‘सम्वन्ध आ(आफ्नै प्रकारका हुन्छन् तर दुवै छिमेकी हुनाले संवेदनशील अवस्थामा सरकारका कार्यकारी आफै घोत्लिन पर्ने हुन्छ’ चीन अध्ययन केन्द्रका कार्यकारी प्रमुख समेत रहेका भट्टराईले भने, ‘चीनतर्फ जाँदा भारतले र भारत तर्फ जादा चीनले हेर्ने दृष्टिकोणलाई विचार गर्न आवश्यक छ ।’ चीन र भारतको अडान हेर्दा त्यो समस्या सजिलै सल्टिने देखिदैन । यस्तो अवस्थामा नेपाल सिधा पर्न नहुने भन्दै ख्याल गरेर अघि बढ्न आवश्यक रहेको उनले बताए ।
Post a Comment