सुनसरी -इटहरी, साउन ८ गते । रातो तारा डट कम,विश्व मानव शान्ति र हिंसारहित मानव कल्याणकारी कार्यका लागि बौद्ध धर्मबाहेक अरु कुनै धर्म कल्याणकारी हुन नसक्ने एक बौद्ध अनुयायी जापानी नागरिकले उल्लेख गर्नुभएको छ ।
नेपालमा जन्मिएर विश्व मानव शान्तिको सन्देश बोकेर विश्वका धेरै देशमा फैलनुभएका भगवान् गौतम बुद्धको शान्ति सन्देश प्रत्येक नेपालीको मस्तिष्कमा फैलन जरुरी रहेको उहाँको भनाइ रहेको छ ।
भगवान् गौतम बुद्ध नेपालमा जन्मिएर पनि किन यहाँ मानव मानवबीच अशान्ति, हिंसा र एक आपसमा मेलमिलापको अभाव भन्ने सन्दर्भमा आफ्नो धारणा राख्दै बौद्ध धर्म अनुयायी जापानी नागरिक ज्योसोनाको नासाकोले आज इटहरीमा त्यस्तो धरणा व्यक्त गर्नुभएको हो ।
उहाँले विश्व मानव शान्ति र मानव मानवबीचको सहअस्तित्वका लागि भगवान गौतम बुद्धले अघि सार्नुभएको अहिंसात्मक कदम नै मानव कल्याणको एकमात्र अकाट्य मान्यता रहेकोमा सबैले यसप्रति चिन्तन गर्न जरुरी रहेको पनि बौद्ध अनुयायी जापानी नागरिक नासाकोको तर्क रहेको छ ।
इटहरीस्थित आइतबारेको दुर्गा पार्टी प्यालेस हलमा आज सम्पन्न कार्यक्रममा नेवार, तामाङ, राई, शेर्पा, मगर लगायत अन्य विभिन्न जातजातिका समुदायका मानिसको सहभागिता थियो । त्यस अवसरमा उहाँले सबै जातजातिका सहभागीलाई बौद्ध शास्त्र वाचन तरिकाका विषयमा पनि प्रकाश पार्नुभएको थियो । रासस
–––––––
Post a Comment