झापा-सुरुङ्गा साउन ११ गते । रातो तारा डट कम,
जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । तीन हजार ६९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९२७ साना चिया कृषकले चियाखेती गरिरहेका
छन् ।
कार्यालयको तथ्याँकअनुसार आव २०७०÷७१ मा दुई करोड १० लाख ७६ हजार ३६६ किलो तयारी चिया उत्पादन भएको थियो । आव २०७१÷७२ मा दुई करोड ३१ लख ८६ हजार ७२६ किलो तयारी चिया उत्पादन भएको थियो । चियाखेतीतर्फ किसान आकर्षित भएसँगै उत्पादनमा वृद्धि भएको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ भने अर्थोडक्स चिया प्रतिकिलो रु ३०० का दरले बिक्री हुँदैआएको छ ।
विषादीरहित चिया उत्पादन :-
नेपाली चिया अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै किसान विषादीरहित चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम विषादी प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका कृषक अहिले प्रांगारिक चिया उत्पादनमा जुटेका हुन् ।
प्रांगारिक चियाले अन्तरराष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने भएकाले झापाली चिया कृषकले विषादीरहित चिया उत्पादन शुरु गरेको कृषि विकास अधिकृत अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार पूर्वी नेपालको इलाम र पाँचथर प्रांगारिक चिया उत्पादनका लागि चिनिन थालेपछि यहाँका कृषकले पनि प्रांगारिक चिया उत्पादनमा जोड दिएका हुन् ।
भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादन भएको चिया भारत लैजाने गरेको र भारतीय ब्राण्डमा नेपाली चिया बिक्री गर्ने गरेको चिया किसानको भनाइ छ ।
नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशमा निर्यात हुने गरेको छ । नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायतका मुलुकमा निकासी हुने गरेको छ ।
धमाधम कारखाना खोल्दै:-
जिल्लाका साना चिया किसान धमाधम चिया कारखाना खोल्न जुटेका छन् । सरकारको ५० प्रतिशत अनुदान लिएर उनीहरु आफैँ कारखाना खोल्न जुटेका हुन् ।
चिया उद्योगीसँग सधैँ हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका किसानले आफ्नै पहलमा चिया कारखाना शुरु गरेपछि लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवाद केही मत्थर भएको छ । विसं २०६८ मा पहिलो पटक पृथ्वीनगरका साना चिया कृषकले रु सात करोड ३५ लाखको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका थिए । तीन वर्ष लगाएर सञ्चालनमा ल्याएको सो कारखानाको दैनिक १५ हजार किलो हरियोपत्ती प्रशोधन गर्ने क्षमता भए पनि हाल दैनिक पाँच हजार किलो मात्रै प्रशोधन गर्ने गरेको छ ।
चिया कारखानाका लागि सरकारले रु तीन करोड १० लाख अनुदान उपलब्ध गराएपछि कृषकले आफ्नै पहलमा चिया उद्योग स्थापना गरेका हुन् । जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना छन् । केही कारखाना सहकारीको माध्यममबाट सञ्चालनमा आएका छन् । साना चिया किसानले सहकारीमार्फत हल्दिवारी र बाहुनडाँगीमा समेत चिया कारखाना सञ्चालनको तयारी थालेका छन् । पाराखोपी साना किसान चिया सहकारी संस्थाले कारखाना स्थापना गरिसकेको छ ।
वानस्पति विषादी, जीवाणुमा आधारित विषादी तथा नवीनतम बाली संरक्षणको प्रविधि अपनाएर यहाँका कृषकले चियाखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताउनुभयो । कृषकले खेती गर्न शुरु गरेसँगै बर्सेनि रासायनिक विषादीको प्रयोग घट्दै गएको छ । पछिल्लो समय जिल्लामा कृषक र सरकारीस्तरबाटै प्रांगारिक मल उत्पादनका लागि जोड दिँदै आइपीएम ९एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति० प्रविधिबाट कृषकले चिया तथा तरकारीखेती गर्न थालेका कारण विषादीको प्रयोग घटेको खरेलको भनाइ छ ।
कृषकले विषादीको सट्टा जैविक तथा वनस्पति विषादी प्रयोग गर्दै उत्पादन गर्ने गरेका कारण विषादीको आयातसमेत घटेको छ । तत्कालीन महेशपुरको पराजुली टि स्टेट, जलथल–४ र हल्दिवारी–३ मा आइपीएम प्रविधिबाट चियाखेती गर्न तालिम प्रदान गरेसँगै यहाँका चिया कृषकले रासायनिक विषादी प्रयोग गर्न छाडेका हुन् ।
चियामा प्रांगारिक प्रमाणीकरणका लागि सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि सुरेन्द्रनगर साना किसान चिया सहकारी संस्था बाहुनडाँगी, तारखी साना किसान सहकारी संस्था आपडाँगी र पथरीयामा रहेको चिया बगानले प्रांगारिक चियाखेती गर्दैआएका छन् ।
बाहुनडाँगीमा चिया कारखाना सञ्चालन गर्ने तयारी
बाहुनडाँगीमा रु आठ करोडभन्दा बढीको लागतमा चिया प्रशोधन कारखाना सञ्चालन गर्ने तयारी भइरहेको छ । सरकारको ५० प्रतिशत अनुदान र अन्य रकम किसान आफैँले जुटाएर कारखाना सञ्चालन गर्न लागिएको हो । स्थानीय साना चिया कृषक सक्षम निरौलाका अनुसार चार किस्तामा रकम निकासा भइसकेको र सो रकमले चिया कारखाना निर्माण गरिएको छ ।
पहिलो किस्तामा सरकारले रु एक करोड ९५ लाख, दोस्रो किस्तामा रु २३ लाख, तेस्रो किस्तामा रु ७५ लाख र चौथो किस्तामा रु ६४ लाख प्रदान गरेको छ । कात्तिकबाट चिया प्रशोधन कारखाना सञ्चालनमा आउनेछ ।
शुभ चिया किसान सहकारी संस्थामार्फत कृषकले आफ्नै पहलमा चिया प्रशोधन कारखाना सञ्चालन गर्न लागेका हुन् । चिया कारखाना सञ्चालनमा आए सो क्षेत्रका एक हजारभन्दा बढी कृषक लाभान्वित हुने छन् । विसं २०६४ मा स्थपना भएको सो सहकारीले सञ्चालनमा ल्याउन लागेको चिया प्रशोधन कारखानाले दैनिक पाँच हजार किलो तयारी चिया उत्पादन गर्ने र वार्षिक रु एक करोड नाफा गर्ने लक्ष्य राखेको निरौलाले बताउनुभयो ।
‘विषादी नहाल्दा उत्पादन घटेन’:-
भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका साना चिया कृषक बालकृष्ण गिरीले चियाखेती गरेको लामो समय भएको छ । उहाँले दुई बिगाहा १० कट्ठा जमिनमा चियाखेती गरिरहनुभएको छ ।
एक बिगाहामा उहाँले शुरु देखिनै प्रांगारिक चियाखेती गरिरहनुभएको छ । बाँकी एक विगाह १० कट्ठा जमिनमा उहाँले विषादी न्यून मात्रामा प्रयोग गरेर चियाखेती गरिरहनुभएको छ । अज्ञानताका कारण शुरु– शुरुमा विषादी प्रयोग गरेर चियाखेती गर्दै आए पनि विषादी प्रयोग गर्दा जीउ पोल्न थालेपछि उहाँले विषादीको प्रयोग घटाउन थालेको बताउनुभयो ।
चियामा विषादीको मात्रा घटाउँदै जाँदा पनि उत्पादन नघटेपछि गिरीले महिनामा दुई प्रटक प्रयोग गर्दै आएको विषादी वर्षमा दुई पटक मात्रै प्रयोग गर्न थालेको बताउनु
भयो। जैविक वनस्पति विषादी प्रयोग गरेर पनि रोग तथा किरा नियन्त्रण गर्न सकिने भएपछि उहाँले जैविक वनस्पति विषादी प्रयोग गरेर चियाखेती गरिरहनुभएको छ ।
कम खर्चमा नै जैविक वनस्पति विषादी तयार गर्न सकिने भएपछि गिरी अहिले पूर्ण रुपमा प्रांगारिक चिया उत्पादनमा जुट्नु भएको छ । साना किसान कृषि सहकारी संस्थामा आबद्ध उहाँ मात्र होइन सो क्षेत्रका अधिकांश कृषकले प्रांगारिक चिया खेती गरिरहेको गिरीको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालय, कारितास नेपाल र सहारा नेपालले आइपीएम पाठशाला सञ्चालन गरेपछि उक्त क्षेत्रका कृषकले प्रांगारिक चिया उत्पादन गर्दैआएका छन्
Post a Comment