काठमाडौं, साउन २३ गते । रातो तारा डट कम,राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक कर्मचारी संघले आफुले राख्दै आएको माग पुरा नभए भदौंपछि आन्दोलन गर्ने उल्लेख गरेको छ ।
हाल राष्ट्र बैंकले संशोधन गर्न लागेको कर्मचारी सम्बन्धि विनियमावलीमा वृद्धि विकासका लागि आवधिक पदोन्नती, अधिकृत तृतीय स्तरसम्मको अतिरिक्तमान र वृत्ति विकासको लागि पर्याप्त दरबन्दिको सृजना लगायतका विषय राखिएकोमा पनि संघले विरोध जनाएको हो ।
तर आफुले माग गर्दै आएको एकद्वार अवकास नीतिमा भने व्यवस्थापनले वेवास्ता गरेको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।
युनियन भित्रै बाँडिए कर्मचारी :-
ज्ञापन पत्र बुझाएको एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले एकद्वार नीतिको माग गरेपनि स्पष्ट अडान भने राख्न सकेको छैन् । ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदबन्दिको अवकास नीति दुवै कायम रहेको राष्ट्र बैंकमा युनियनहरुका कर्मचारीहरु पनि आ–आफ्नो दुनो सोझ्याउने दाउमा देखिएका छन् ।
एकद्वार नीतिमा कुन व्यवस्था राख्ने भन्नेमा साथीहरु पनि बाँडिएका छन्, हामी छलफल गर्दैछौं,’ नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष डुण्डीराज मिश्रले भने ।
राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरुमा विशिष्ट श्रेणिमा पुगेको ७ वर्ष र प्रथम श्रेणिमा पुगेको १२ वर्ष भएमा अवकाश पाउने व्यवस्था पनि छ ।
विनियमावली संशोधन समितिले सेवा अवधिको विषयलाई संशोधन प्रस्तावमा उठाइएको भएपनि प्रस्तावमा कुनै धारणा नदिएर भने खालि नै राखिएको छ । हाल विनियमावली संशोधनको मस्यौदा राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएको छ ।
यता, राष्ट्र बैंकले विनियमावलीमा संशोधन गरेर रिक्त पदमा सम्भावित उम्मेदवारलाई छान्दा जेष्ठताको लागि ६० अंक, शैक्षिक योग्यतालाई २० अंक, कार्य सम्पादन मूल्यांकनलाई १ सय अंक, भौगोलिक क्षेत्रको अनुभवलाई १० अंक र कार्य सम्पादन परीक्षण ९टाक्स परफरमेन्स टेष्ट० लाई दश अंक दिने प्रस्ताव छ ।
हाल भने रिक्त पदमा सम्भावित उम्मेदवारलाई छान्दा जेष्ठताको लागि ७० अंक, शैक्षिक योग्यतालाई २० अंक,कार्य सम्पादन मूल्यांकनलाई १ सय अंक र भौगोलिक क्षेत्रको अनुभवलाई १० अंक दिने गरेको छ । यसै आधारमा सबैभन्दा बढि अंक पाउने सम्भावितले रिक्त पदमा बढुवा पाउछ ।
Post a Comment