काठमाडौ साउन १७ गते । रातो तारा डट कम,
चीनको केरुङ्बाट सामान आयात हुन थालेको छ । चीनको केरुङस्थित भन्सार हुन थालेको व्यापारी नवराज तिमिल्सिनाले बताएका छन ।
३ सय गाडी मध्ये २ सय गाडी भन्सार भइसकेको उनले जानकारी दिए । चीनको पाङसिङमा साउनदेखि रेडिमेट सामान भन्सार हुन नसक्दा नेपाली गाडी रोकिएको थियो । ‘हिजो भन्सार भयो,’ व्यापारी तिमिल्सिनाले भने, ‘आजबाट सामान झर्छन् ।’
शुक्रबार चीनको केरुङमा रसुवा भन्सारका प्रमुख र चिनियाँ भन्सार पदाधिकारी बीच वार्तापछि चिनियाँ सामानको भन्सार हुन थालेको हो । ‘सामान भन्सार हुन थाल्यो,’ रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले भने, ‘उनीहरुले २५ सय आरएमवीमा भन्सार गरेका छन् । सामान रसुवागढी आउछ ।
चिनियाँ भन्सार एजेन्टले सामानको क्लियरेन्स शुल्क बृद्धि गरेर रसुवागढी नाका ठप्प बनाएका थिए । चिनियाँ भन्सार एजेन्टले नेपाली प्रति कन्टेनर १५ सय चिनियाँ मुद्रा युआन(आरएमबी) क्लियरेन्स चार्ज लिंदै आएकोमा त्यसलाई बढाएर ५ हजार आरएमबी पुऱ्याएपछि नेपाली व्यापारीले चिनियाँ सामान केरुङको पाङसिङबाट उठाएका थिएनन् । त्यसपछि नेपाली र चिनियाँ पक्षबीच वार्ता गरी २५ सय आरएमबीमा सामान निकासी गर्ने आश्वासन पछि सामान भन्सार भएको हो ।
१५ सय आरएमवीबाट २५ सय पुर्याएपछि नेपाली व्यापारीलाई १ हजार आरएमबी बढी तिर्नु परेको बताए । नेपाली व्यापारीका अनुसार चिनियाँ सामान केरुङमा बढी आउन थालेपछि प्रतिस्पर्धा भई क्लियरेन्स शुल्क घट्नेमा आशावादी छन् । चिनियाँ भन्सार एजेन्टले स्याउ र लसुन निकासी गर्न दिएपनि रेडिमेट सामानमा क्लियरेन्स शुल्क बढाएर निकासी गर्न दिएका थिएनन् ।
आयात हुने सामान तयारी लुगा, रोल कपडा, खेलौना, स्याउ, टाँक, जुत्ता, मोबाइल कभर, जलविद्युतका सामाग्री छन् । नेपालबाट चीनको केरुङतर्फ निकासी हुनेमा नेपाली चाउचाउ, खुर्सानी, सख्खर, बुद्धका मूर्ति, हस्तकलाका सामाग्री छन् ।
Post a Comment