विराटनगर, असोज, ६ गते । रातो तारा डट कम,
विराटनगरमा शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ भन्ने अवधारणा अनुरूप ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ आजबाट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा मोरङ प्रहरीले अभियानको थालनी गरेको हो । अभियानको शुभारम्भ गर्नु अघि जनप्रतिनिधीहरु, सुरक्षाकर्मी, सरकारी कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, विद्यार्थी सम्मिलित र्याली निकालिएको थियो ।
विद्यार्थीले आआफ्नो हातमा बोकेका प्लेकार्डले सामाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनु पर्ने र अपराध नियन्त्रणमा सक्रियता बढाउनु पर्ने मार्गदर्शन गरिरहेको थियो । र्यालीमा विद्यार्थीको संख्या उल्लेख्य थियो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अभियान समय सान्दर्भिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
नागरिकसंग प्रहरी र प्रशासनको सम्बन्धलाई सुमधुर र मजवुत बनाउन अभियानले सहयोग गर्ने उहाँको भनाइ छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आधुनिक समाजमा यस्ता कार्यक्रम अत्यन्तै फलदायी हुने बताउँदै अभियानलाई सफल पार्न जनप्रतिनिधीका हैसियतले कुनै पनि कसर बाँकी नराखिने बताउनु भयो ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले प्रहरी प्रशासनलाई अझ जनउत्तरदायी बनाउँदै शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने उद्देश्यका साथ ल्याइएको यस अभियानले नागरिक र प्रहरी बीचको दूरीलाई कम गर्ने बताउनु भयो । बिसीले सबै पक्षको सहयोग र सबैसंगको सहकार्यमा समाजलाई अपराधमुक्त बनाउन सकिने बताउनु भयो ।
Post a Comment