काठमाडौँ, असोज १९ गते । रातो तारा डट कम, निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आमसञ्चार माध्यममार्फत सरल र सहज तरिकाबाट सूचना प्रवाह गर्ने उद्देश्यले सञ्चारकर्मीलाई प्रशिक्षण दिनका लागि हिजो मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥यो ।
उक्त प्रशिक्षक प्रशिक्षण तालीमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि निर्वाचनमैत्री वातावरण सिर्जना गर्न तथा आचारसंहिता पालना गर्न गराउन सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।
उहाँले समाचार सम्प्रेषण गर्दा निर्वाचनको संवेदनशीलतालाई ध्यान दिनसमेत सुझाव दिनुभयो ।
मुख्य प्रशिक्षकले सात वटा प्रदेश र जिल्ला तहमा सञ्चारकर्मीलाई ‘निर्वाचन र सञ्चार’ विषयमा प्रशिक्षण दिनेछन् ।
आयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालले मुख्य प्रशिक्षक प्रशिक्षणमा सहभागीलाई विषयवस्तुप्रति राम्रो जानकारी लिन तथा आफूले सातै प्रदेशमा सञ्चालन गर्ने प्रशिक्षणमा त्रुटिरहित तरिकाबाट प्रशिक्षण गराउन तयार हुन सुझाव दिनुभयो ।
सचिव पौड्यालले भन्नुभयो, “स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउने आयोगको संवैधानिक दायित्व भए पनि यसमा सञ्चार जगत्को सकारात्मक सहयोग आवश्यक छ ।”
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले निर्वाचन आयोग पूर्णरूपमा स्वतन्त्र र बलियो संयन्त्रका रुपमा रहनुपर्ने तथा निर्वाचनको मिति तोक्ने अधिकार पनि आयोगलाई नै हुनुपर्छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा निर्वाचनमैत्री जनमत निर्माण गर्न र निर्वाचनको महत्व बुझाउन सञ्चार क्षेत्रबाट यथेष्ट सहयोग हुने बताउँदै अध्यक्ष आचार्यले भन्नुभयो, “निर्वाचनलाई सफल तुल्याउनु पत्रकारको पनि जिम्मेवारी हो, निर्वाचन आचारसंहिता पालना गर्न गराउन महासंघले आयोगलाई सहयोग पु¥याउनेछ ।”
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल तुल्याउन नौ प्रकारका तालीम सञ्चालन हुने जानकारी पनि दिनुभयो ।
उहाँले निर्वाचन संबद्ध सरोकार भएका तथा कर्मचारीलाई मतदाता शिक्षा प्रशिक्षण, निर्वाचन र सञ्चार, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन र सुरक्षा, निर्वाचन सञ्चालन र व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, मतदान तथा मतगणना, राजनीतिक दल संबद्ध युवाका लागि निर्वाचन व्यवस्थापन, अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय निर्वाचन सहायता परियोजनाका उपप्रमुख कुन्दनदास श्रेष्ठले विश्वासनीय र समावेशी निर्वाचनका लागि आफ्नो संस्थाले निर्वाचन आयोगसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
Post a Comment