Websoft University

चिकित्सकमाथि धम्की दिने औषधि व्यवसायी पक्राउ


विराटनगर, कात्तिक २४ गते । रातो तारा डट कम,
कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सक रवि खड्कालाई धम्की दिने विराटनगरका औषधि व्यवसायी जितेन्द्रकुमार रजकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विराटनगरको रानी घर भएका रजकलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले बताउनु भयो  । रजकले हिजो विहान ११ बजे अस्पतालमै पुगेर डा. खड्कालाई धम्क्याएका थिए । प्रहरीका अनुसार अस्पतालबाट निस्कने वित्तिकै जेपनि गरिदिने धम्की दिएर रजकले आफ्नो मोवाइलमा डा. खड्काको फोटो समेत खिचेर लगेको पाइयो ।

धम्की दिएपछि कोसी अञ्चल अस्पतालका चिकित्सकहरुले रजक विरुद्ध उजुरी दिंदै सुरक्षाको माग गरेका छन् । रजकलाई विराटनगरको रोडशेष चौकबाट प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा आज विहाननै पक्राउ गरेको थियो । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएको भन्दै वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेर उनलाई स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल पुर्याएको थियो ।

चिकित्सकले मादक पदार्थ सेवन गरेको रिपोर्ट दिएको भन्दै रजकले डा. खड्कालाई धम्क्याएको पाइएको डीएसपी सिटौलाले बताउनु भयो । मापसे गरेर सवारी साधन चलाए बापतको जरिवाना तिरेर छुटे लगत्तै उनी चिकित्सकलाई धम्क्याउन अस्पताल पुगेका थिए ।

धम्की दिएको भनेर उजुरी परेपछि औषधि व्यवसायी रजकलाई पक्राउ गरेर ल्याइएको जानकारी डीएसपी सिटौलाले दिनु भयो । उनी विरुद्ध कारवाही अघि बढाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रजकको विराटनगरको रानीमा औषधि पसल संचालनमा छ ।

नोवेल मेडिकल कलेज र लाइफगार्ड अस्पतालमा समेत उनले औषधि पसल संचालन गर्दै आएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.