तेह्रथुम, मंसिर, ९ गते । रातो तारा डट कम,
भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले मध्यपहाडी लोकमार्गको निर्माणसँगै जिल्लाको विकास र समृद्धिको ढोका खुलेको बताउनुभएको छ । लोकमार्गले जिल्लाको पुर्वी क्षेत्रदेखि पश्चिमी क्षेत्रसम्मलाई एकसाथ जोडेको र सो सडकसँगै विकास समृद्धि समेत सँगसँगै भित्रिएको उहाँले बताउनुभयो ।
अहिले लोकमार्गसँग जोडिएर जिल्लैभरि शाखा सडकहरु निर्माण भएसँगै जिल्लाबासीलाई सडकको भोक मेटिदै गएको उहाँको भनाइ छ । राज्यमन्त्री गुरुङले अब जिल्लामा निर्माण भइरहेका सडकको स्तरोन्नति र कालोपत्रेको काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राज्यमन्त्री गुरुङले दक्षिण एसियाकै ह्यात्रुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि सिमरादेखि इसिवु हुँदै ह्यात्रुङ झरना पर्यटन मार्ग निर्माणका लागि पहल गरेको बताउनुभयो । राज्यमन्त्री गुरुङले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी गुफा–श्रीजुङ–पौठाक–पोक्लाबाङ–सिमरा सडकको बहुवर्षे सडकको रुपमा डिपीआर गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले म्याङलुङ्ग–तमोर हुँदै राँके सडकको कालोपत्रेका लागि समेत डिपीआर भइसकेको बताउनुभयो । आफु राज्यमन्त्री हुँदा जिल्लाका लागि धेरै कामहरु गर्न इच्छुक भएपनि लगत्तै चुनाव आचारसंहिता लागेकाले काम गरेर देखाउन नपाएको बताउनुभयो ।
शुक्रबार खाम्लालुङमा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी युवा नेतृ गुरुङले जिल्लाको विकास निर्माणका लागि आफुले साढे दुई दशकदेखि गर्दै आएको योगदानको मुल्याकंन गरी मतदान गरेर अबका दिनमा समेत काम गर्ने अवसर दिन आम मतदातालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (ख) निर्वाचन क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले लोकतन्त्रको रक्षा गर्दै नयाँ संविधानको कार्यान्वयन र आर्थिक समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने बताउनुभयो । उहाँले विगतदेखि वर्तमानसम्म मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै अब पुनः जनताले आफ्नो जनजीविकाको रक्षा गर्न कांग्रेसलाई जिताउने बेला आएको बताउनुभयो ।
नेपाली कांग्रेसले शुक्रबार आठराई गाउँपालिकाको खाम्लालुङका दुई स्थानमा चुनावी सभा गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय चुनाव प्रचार प्रसार समितिका संयोजक केशव भेटुवाल, पुर्वजिल्ला सभापति भीमप्रसाद इस्बो लगायत नेता कार्यकर्ताहरुले मन्तव्य राख्नुभएको छ ।
सो अवसरमा बाम गठबन्धन छाडेर १० जना बढी नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । जिल्लामा अहिले नेपाली कांग्रेसको चुनाव प्रचार प्रसारले तिव्रता पाएको छ । कांग्रेस नेता कार्यकर्ताहरु जिल्लैभरि चुनाव प्रचार प्रसारमा खटिएका छन् । जिल्लामा कांग्रेस नेताहरु एक भएको र नेता कार्यकर्ता बीचको मनमुटाव टुंगिएकाले कांग्रेस जित नजिक पुगेको चर्चा हुन थालेको छ ।
युवा उम्मेदवारलाई विजयी गराउन तरुणहरुको आव्हान
तेह्रथुम, ८ मंसिर । तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा शुक्रबार भएको तरुणहरुको भेलाले मंसिर २१ गते हुन लागेको निर्वाचनबाट युवा उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गरेको छ । नेपाल तरुण दलको भेलामा सहभागी तरुणहरुले प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यमा नेपाली कांग्रेसका शिक्षित, सक्षम र वौद्धिक युवा उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताएका हुन् । भेलाले चुनाव प्रचार प्रसारलाई तीब्र बनाउन तरुण दलका जिल्ला उपाध्यक्ष सुजन कुरुम्बाङको अध्यक्षतामा ५७ सदस्यीय फेदाप गाउँपालिका स्तरीय नेपाल तरुण दल चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रुद्रप्रसाद ढकाल, कमल बुढाथोकी, भेषराज लिम्बु, लक्ष्मी निङ्लेकु, रमेश कुरुम्बाङ र सुरेश फोम्बो रहनुभएको छ । यस्तै सचिवमा राधाकृष्ण कट्टेल र बलिन्द्र तामाङ चयन हुनुभएको छ । भेला नेपाली कांग्रेस फेदाप गाउँपालिका सभापति पशुपति भट्टराई लगायत कांग्रेस नेताहरको उपस्थिति थियो ।
पार्टी छाड्ने तरुण दलका उपाध्यक्ष सुब्बा निष्कासित
तेह्रथुम, ८ मंसिर । नेपाली कांग्रेस सम्बद्ध लोकतन्त्रबादी युवाहरुको संगठन नेपाल तरुण दल तेह्रथुमले पार्टी छाड्ने जिल्ला उपाध्यक्ष उदयदीप सुब्बालाई निष्कासन गरेको छ । जिल्ला अध्यक्ष विपीन सुब्बाले एक प्रेश विज्ञप्ति जारी गर्दै सुब्बालाई दलको उपाध्यक्ष पद तथा साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको जानकारी दिनुभएको हो । छथर गाउँपालिका–५, शुक्रबारे बजार निवासी उदयदिप सुब्बा दलको साधारण सदस्य हुँदै दुई वर्षअघि जिल्ला अधिवेशन पछि उपाध्यक्ष पदमा मनोनित भएका थिए । सुब्बाले लोकतन्त्र र नेपाली कांग्रेसको सिद्धान्त र विचारबाट स्खलित भई लोकतान्त्रिक पद्धति र मुल्य मान्यताको विरुद्धमा उत्रिएको सिद्धान्तहिन र अधिनायकबादीहरुको उक्साहटमा बरालिएर अन्य पार्टीमा गएको हुँदा निजलाई बर्खास्त गरिएको विज्ञप्तिमा भनिएको छ । साथै सुब्बाले तरुण दलको नामबाट कुनै कारोबार गरे त्यसबारे जिम्मेवार नहुने समेत विज्ञप्तिमा भनिएको छ ।
Post a Comment