राजविराज, मंसिर ९ गते । रातो तारा डट कम, लामो समयदेखि जीर्ण रहेको सप्तरी सदरमुकाम राजविराजको मुटुमै अवस्थित गजेन्द्र चोकदेखि शहीददर्शन चोकसम्मको सडक निर्माण कार्य शुरु भएको छ । सडक विभागको सहयोग तथा सडक डिभिजन कार्यालय लहानमार्फत तीन सय मिटर पक्की सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बताउनुभयो ।
कुल रु एक करोडको योजना रहेकोमा स्थानीय श्यामा कन्सट्रक्सनले पुस महिनाभित्र सम्पन्न हुनेगरी रु ५५ लाखमा ठेक्का लिएको उहाँले जानकारी दिनुभयो ।
सम्झौता अनुसार ३०० मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त सडकको दुवैतर्फ एक दशमलव पाँच मिटर आरसिसी ढलान गरिने समेत उहाँले जानकारी दिनुभयो । अति व्यस्त मानिने मुख्य सडकलाई जेसिबीले खनेर छाडिदिएपछि धुलाम्मय र कच्ची बाटोमा सर्वसाधारणलाई हिड्न बाध्य हुनुपरेको थियो ।
सब ग्रेड अर्थात जेसिबीले खनेर पुरानो कालोपत्रेलाई झिक्ने र सब बेस ग्राभेल (१५ से.मि.) कार्य सम्पन्न भइसकेको र बालुवाको प्रिमिक्स कार्पे्टिङ अर्थात स्याण्ड सील कार्य पनि चाडै शुरु गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर शोभितलाल ठाकुरले बताउनुभयो । यस अतिरिक्त राजविराज नगरको अन्य सडकमा पनि काम थालिने उहाँले बताउनुभयो ।
Post a Comment