Websoft University

नेपाल प्रहरीले सञ्चालम गरेको पेट्रोल पम्पमै अनियमितता, छानबिन सुरु


काठमाडौं, मंसिर ९ गते । रातो तारा डट कम,
प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा पुनः अनियमितताले जरो गाडेको छ । प्रहरी निरीक्षक विष्णु पोखरेल प्रमुख रहेको नक्सालस्थित प्रधान कार्यालय परिसरको पम्पमा निरीक्षक पोखरेलद्वारा नै संस्थागत घुसखोरीलाई मलजल गरिरहेको बताइन्छ ।

आफू सो पम्पको नेतृत्व गर्न प्रहरीभित्रको सबैभन्दा घुस्याहा युनिट लेखाबाट आइपुगेको तीन महिना मात्र हुन लागेको बेला उनले घूसको सबै च्यानल पहिल्यै बुझिसकेकाले सुरुवातीबाटै अनियमिततामा जोड दिएको बताइन्छ ।

उनले मातहतका कर्मचारीहरूलाई अनियमितता गरी सक्दो रकम बुझाउन निर्देशन दिएको थाहा भएको छ । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ ।

 पम्पमा विगत लामो समयदेखि तिनै कर्मचारीहरू रहेकाले पनि उनीहरूले नयाँ हाकिम आउनासाथ सेटिङ मिलाएर दिनदिनै रकम बुझाउने गरेको बताइन्छ । त्यहाँ कार्यरत कर्मचारीहरूमध्ये आलोपालोअनुसार केही कर्मचारीले हरेक दिनजसो थानकोटमा पेट्रोल लिन जानुपर्छ भने केहीले चाहिँ पम्पमा बसेर पेट्रोल भरिदिने तथा अन्य खटनपटन गर्ने काम गर्छन् ।

इन्सपेक्टर पोखरेललाई राम्रो रकम नियमित रूपमा बुझाउने गरेकाले त्यहाँका कर्मचारीहरू उनका प्रिय भएको स्रोतको दाबी छ । अझ विशेषगरी पम्पको कम्युटर शाखामा कार्यरत दिलीप कार्कीको भूमिका बढी शंकास्पद रहेको बताइन्छ ।

उनले सबै कर्मचारीलाई ‘हाकिमसाबलाई पैसा बुझाउनुपर्छ जसरी पनि मिलाउनू’ भन्दै रकम संकलन गर्ने र बेलुका बाँडचँुड गर्ने गरेको बताइएको छ ।

कार्कीलाई त्यहाँको इन्चार्ज पोखरेलले संरक्षण गरेकैले खुलेआम घुसखोरीलाई प्रश्रय दिएको बताइन्छ । पम्पमा उनीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल अन्य सर्वसाधारणलाई बेचेर नगदमा कन्भर्ट गरी पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । 

त्यस्तै, तेलै नहालीकनै तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । त्यस्तै, समाजका उच्च पदस्थ व्यक्तिहरू तथा इन्सपेक्टर पोखरेलका आफन्त र साथीभाइलाई भने रकम नै नतिरी हरेकपटक तेल हाल्ने प्रबन्धसमेत गरिएको बताइन्छ । प्रहरीबाट अवकाश भइसकेका भूपू प्रहरीहरू पनि विगतमा ठूलो संख्यामा करारमा कार्यरत रहेकामा पछिल्लो समय तिनीहरूलाई भने हटाइएको छ । 

पहिले कल्याण महाशाखाका प्रमुख भई एसएसपी रहेका पवन खरेल अहिले डीआइजी भई प्रबन्ध महाशाखाको प्रमुख रहेका छन् । यता, प्रहरी कार्यालयका सहयोगी चेतराज न्यौपानेलाई पेट्रोलपम्पमा ल्याइएको छ ।
त्यसका लागि डीआइजी खरेलले भनसुन गरेका थिए । पोखरेलले अहिले मासिक ६० हजार रुपैयाँसम्म अतिरिक्त आम्दानी गर्ने गरेको बुझिएको छ । यसअघि चिन्तामणि बुढाथोकी पेट्रोलपम्पको प्रमुख रहेकामा उनी डीएसपी बढुवा भई गएपछि पोखरेल आएका हुन् ।

सेयर बजारमा अत्याधिक लगानी गर्ने उनी पनि अकुत सम्पत्ति कमाइसकेका व्यक्ति हुन् । उनले आफ्ना छोराहरू भारतमा लगेर पढाएका छन् । 
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.