Websoft University

रासस पनि अब संघीय ढाँचा जाने


काठमाडौँ, कात्तिक २२ गते । रातो तारा डट कम,
मुलुकको एक मात्र सरकारी समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) ले संघीयतानुसारको संरचना बनाउन सम्बन्धित विषयका विज्ञसँग छलफल गरेको छ ।

रासस केन्द्रीय कार्यालयमा आज आयोजित ‘रासस संघीय संरचना ढाँचा’ विषयको अन्तक्र्रिया कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञले राससले आफ्ना ग्राहकलाई समयमै विविध समाचार सामग्री उपलब्ध गराउने गरी प्रादेशिकस्तरमा ब्यूरो कार्यालय राख्न उचित हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले मुलुकमा संघीयताको पुनःसंरचनासँगै राससको पनि ढाँचा बनाउनुपर्ने भएकाले मन्त्रालयस्तर र रासस आफैँले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । सञ्चार क्षेत्रका विज्ञको रायसुझावसहित एकीकृत प्रतिवेदन बनाई राससको संघीयता ढाँचालाई अन्तिम रुप दिइने बताउँदै उहाँले केन्द्र, प्रदेश र स्थानीयस्तरमा समन्वय हुने गरी राससको ढाँचा बनाउँदा समाचार सेवा प्रवाहमा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

महाप्रबन्धक ओपेन्द्र शर्माले राससको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै मुलुकको संघीय संरचनानुसार राससको संरचना बनाउन विभिन्नस्तरका विज्ञसँग छलफल भइरहेको बताउनुभयो । राससका प्रधानसम्पादक राजु शाक्यले राससका समाचार सामग्रीमा विविधता भए पनि कतिपय विषयमा अपेक्षा गरेअनुसार समाचार दिन नसकिएको तथ्य उल्लेख गर्दे आगामी दिनमा त्यसलाई पूरा गरिने बताउनुभयो ।

राससका पूर्वमहाप्रबन्धक एवं वरिष्ठ पत्रकार गोकुल पोखरेलले राससले कानूनी रुपमा स्वायत्तता चरित्र देखाउन ऐनकानूनमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै आर्थिक रुपमा धान्न सकिने संघीय संरचना बनाउँदा उचित हुने धारणा व्यक्त गर्नुभयो । राससकै पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले राससको संघीय संरचना बनाउँदा भौतिक, जनशक्ति, वित्तीय, प्राविधिक र समाचार सेवाको व्यवस्थापनको आयामबाट हेर्नुपर्ने बताउँदै समाचारमा विश्वसनीयता र शीघ्रता कायम राख्नुपर्ने सुझाव दिनुभयो ।

गोरखापत्र संस्थानका पूर्वअध्यक्ष ओम शर्माले राससले संघीय संरचनामा लैजाँदा मुलुकको मौलिकतालाई पनि ख्याल गर्नुपर्ने बताउँदै समाचारमा राजनीतिभन्दा अन्य विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । त्रिवि पत्रकारिता विभागका प्रा चिरञ्जीवी खनालले राससको संघीयता ढाँचा बनाउँदा संस्थाको सबल र कमजोर पक्ष तथा सम्भावना र चुनौतीलाई विश्लेषण गर्नुपर्ने सुझाव दिँदै राससले समयानुसारको समाचार सामग्री दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एपी समाचार संस्थाका नेपाल प्रतिनिधि विनाज गुरुवाचार्यले संघीय संरचनामा जाँदा स्थायी कर्मचारीभन्दा स्टिङ्गर बढी राख्नु उचित हुने सुझाव दिँदै समाचार सेवालाई प्रभावकारी बनाउन संवाददातालाई प्रशिक्षित र सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । रोयटर्स समाचार संस्थाका नेपाल प्रतिनिधि गोपाल शर्माले समाचार संस्थाको संघीय संरचना प्रशासनिकभन्दा समाचारको ढाँचामा बनाउनुपर्ने बताउँदै प्रादेशिकभन्दा ब्यूरो कार्यालयको ढाँचा उत्तम हुने सुझाव दिनुभयो ।

राससले संगठनात्मक संरचनामा जाँदा प्रादेशिक कार्यालयमा ९ तहको कर्मचारी र जिल्लास्तरमा पाँचोै तहको कर्मचारीको नेतृत्वमा व्यवस्था गर्ने प्रस्ताव गरेको छ । त्यस्तै प्रदेश नं १ को विराटनगर वा धनकुटा वा इटहरी, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को बनेपा वा धुलिखेल वा काठमाडौँ वा हेटाँैडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ वा बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दिपायल वा धनगढीलाई संघका प्रस्तावित केन्द्र तोकेको छ ।

विसं २०१८ मा स्थापित राससका हाल एक केन्द्रीय कार्यालय, तीन क्षेत्रीय कार्यालय १० अञ्चल कार्यालय, तीन जिल्ला कार्यालय र दुई सम्पर्क कार्यालय छन् । त्यस्तै स्थायी र अस्थायी कर्मचारीबाहेक मुलुकभर ११६ स्थानीय समाचारदाता छन् । राससका संयुक्त राज्य अमेरिका, बेलायत, जापान र खाडी मुलुकमा समेत विशेष समाचारदाता कार्यरत छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.