विराटनगर कार्तिक २३ गते । रातो तारा डट कम विराटनगर महानगरको खानेपानी सुधार र विकासका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका सकारात्मक देखिएको
छ । विहिवार विराटनगर महानगर र जाइकाका प्रतिनिधीहरु वीच भएको छलफलमा जाइकाले विराटनगरको खानेपानी समस्या र सुधारका विषयमा काम गर्न इच्छुक भएको धारणा राखेका छन् ।
कार्यक्रममा कार्यबाहक मेयर इन्दिरा कार्की र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला र इन्जिनियर भरत न्यौपाने लगायतले विराटनगरको खानेपानी समस्याका विषयमा जानकारी गराएका थिए । केहीवर्ष अगाडी खानेपानीका कारण निम्तिएको जन्डिसको समस्या र पुराना पायपका कारण शुद्ध खानेपानी जनताले पिउन नपाएको अवस्थाका बारेमा जाइका टोलीलाई जानकारी गराइएको कार्यबाहक मेयर इन्दिरा कार्कीले बताइन् ।
नेपालमा विशेषत खानेपानीको क्षेत्रमा काम गर्दे आएको जाइकाले नेपालका विभिन्न शहरहरुको खानेपानीको अवस्था अध्ययन र अवलोकन गरीरहेको जनाएको छ । जाइकावाट नेपालका लागी वास एडमाइजर रहेका टाकासी सेकी र जाइकाकी कार्यक्रम अधिकृत विधा पोखरेलले विराटनगरको खानेपानीको समग्र विकास कार्यका लागी सहकार्य गरेर काम गर्न जाइका तयार रहेको धारणा व्यक्त गरेका थिए ।
सोही टोलीले विराटनगर महानगरको खानेपानी अवस्थाबारे अनुगमन समेत गरेको थियो । कार्यक्रममा नेपाल खानेपानी संस्थान कार्यालयका कामु सहायक प्रबन्धक शैलेन्द्रकुमार साह,वार्ड न ८का वडाध्यक्ष निश्चल अर्याल,प्रशासन महासाखा प्रमुख राजेन्द्र प्रधान लगायतको उपस्थिती रहेको थियो ।
Post a Comment