उर्लाबारी, कार्तिक १९ गते । रातो तारा डट कम,
पूर्वी मोरङको टाँडीका बासिन्दाहरु प्रत्येक वर्षायाममा आफूलाई अलग्गै टापुको बासिन्दाका रुपमा महसुस गर्छन् । नजिकैको बजार उर्लाबारी आउन मिक्लुक खोला र बाहुनी खोलामा आएको बाढी बाधक बनिदिन्छ । यातायातको पहुँच पुगेपनि ती खोलामा आएको बाढीले सवारी साधन उर्लाबारीको कान्छीचौकदेखि उकालो लाग्दैनन् ।
टाँडीका बासिन्दाहरुको वर्षौंदेखिको मूख्य माग नै मिक्लुक खोला र बाहुनी खोलामा पुल निर्माण हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएका कांग्रेसका उम्मेद्वारले ती खोलामा पुल हाल्ने भन्दै भोट माग्न सुरु गरिसकेका छन् । तर, टाँडीका मुठ्ठीभरका कांग्रेस कार्यकर्ता बाहेक कोहीपनि पुल बन्छ भनेर रत्तिभर पत्याउँदैनन् ।
यसको एउटै कारण छ । विगत दोस्रो संविधानसभा निर्वाचनका बेला पुल निर्माण गर्छु भनेर ठूलाठूला भाषण गरेर कांग्रेसका डिगबहादुर लिम्बूले टाँडीका भोट सोहोरेका थिए । त्यतिमात्र होइन, २०७१ साल असोज ४ गते उर्लाबारीको एक कार्यक्रम र त्यस लगत्तै हिमशिखर टेलिभिजनको अन्तरवार्तामा लिम्बूले मिक्लुक खोलामा पुल नहाले आगामी चुनावमा नउठ्ने र राजनीति नै छाड्ने बताएका थिए ।
तर, तीन वर्ष वितिसक्दा पनि उक्त पुल निर्माणको कुनै छनक देखिएको छैन । सो पुलको लागि कुनै योजना परेको पनि पाइएको छैन । अहिले उनै लिम्बू प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार बनि बासी एजेण्डा बोकेर मत माग्न हिँडेको भन्दै मिक्लाजुङ–३ का दिनेश पौडेल भन्छन् ‘..... लाई भन्दा देख्नेलाई लाज भएको छ ।’
यो त एउटा उदाहरण मात्रै हो, विगत निर्वाचनमा उनले उठाएका एजेण्डाहरु कुन कुन पूरा भए लिम्बू आफैं अनभिज्ञ छन् । उनकै निर्वाचन क्षेत्रमा पर्ने मधुमल्लामा बाढीले वर्षेनि बबण्डर मच्चाउँदा सदनमा एक पटक पनि आवाज उठाउन आवश्यक ठानेनन्, राहत र उद्दारको त कुरा परै जाओस् । क्षेत्रका अन्य समस्या र राष्ट्रिय राजनीतिका विषयमा पनि उनी संसदभित्र मौन नै रहे । संसदमा उनले कतिपटक बोले भन्ने रेकर्ड खासै नभएको संसदीय मामिलाका जानकार पत्रकार शेखर अधिकारी बताउँछन् ।
सांसद बनेर चार वर्ष बिताएका मोरङ कांग्रेसका सभापति समेत रहेका लिम्बूले त्यस्तो कुनै गौरवको योजना आफ्नो क्षेत्रमा पार्न सकेनन् या चाहेनन्, हाल कायम भएको मोरङ १ का मतदाताहरु प्रश्न गरिरहेका छन् । लेटाङ घर भएका निवर्तमान सांसद लिम्बू उर्लाबारी आउँदा केही आसेपासेको घेरामा मात्र रहने गरेका छन् । उनको मतदाता र स्थानीयसँग कुनै किसिमको अन्तरक्रिया नभएको कांग्रेसकै कार्यकर्ताहरु बताउँछन् ।
लिम्बू यतिसम्म सङ्कुचित छन् कि आफ्नो आलोचना पचाउन नसक्दा उनले दुई वर्षअघि मधुमल्लाको एक कार्यक्रममा पत्रकारको घर अगाडिको बाटो बनाउँदिन÷बनाउन दिन्न भनी सार्वजनिक रूपमै भाषण गरेका थिए । देखावटी चिप्ला कुरा गर्ने, सबै समुदायसँग भिज्ने तर भित्री रुपमा अत्यन्तै जातिवादी र काममा कुनै माखो नमार्ने उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।
मोरङ कांग्रेसका प्रभावशाली नेता अमृत अर्यालले मैदान खाली गरिदिएपछि उनलाई पार्टीको जिल्ला सभापति हुन चिठ्ठा परेको थियो । लिम्बूले मोरङमा पार्टी सभापति शेरबहादुर देउवाको गुटको प्रतिनिधित्व गर्दै आएका छन् ।
Post a Comment