विराटनगर, ८ माघ र मोरङ कारागार विराटनगरमा सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । विभिन्न अपराध गरी सजाय काटीरहेका कैदीबन्दीहरु बसोबास गर्ने भवन तथा उनीहरुको अवस्था बुझन सरोकारवालहरुले आज अनुगमन तथा निरीक्षण गरेका हुन् ।
निरीकक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मोरङ ६ का प्रतिनिधि सभा सदस्य तथा एमाले नेता लालबावु पण्डितले अपराध हेरेर खुल्ला जेलको अवधारण ल्याउनुपर्ने बताए । ‘कारागार एउटा सुधार गृह हो,’ पण्डितले भने, ‘जघन्य अपराध बाहेक अन्य सजाएमा आएका बन्दीलाई पारीवारसँग जोडेर राख्न मिल्ने वातवरण सृजना गर्नुपर्दछ ।
जसले गर्दा कैदीबन्दीमा एक प्रकारको डिप्रेसन हट्छ ।’ ठूला अपराधीलाई बेलैमा दण्डीत गर्न सके अपराधमा कमी आउने उनले बताए । धेरै पहिलेदेखि नै बन्दीलाई सेवा सुविधा अहिले पनि त्यही अवस्थामा रहेकोले सरकारले बन्दीले पाउने सुविधा बढाउनुपर्नेमा पण्डितले जोड दिए ।
‘हिमाल, पहाड र तराइका जेलमा रहेका बन्दीले पाउने सिधा एउटै छ,’ पण्डितले भने, ‘भुगोल अनुसारको मङ्गी हेरेर सरकारले सेवा सुविधा बढाउनुपर्दछ ।’कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङ कारागारमा पहिले भन्दा धेरै परिर्वतन आएको बताए ।
उनले बन्दीहरुले दैनिक रुपमा पाउने सिधा बढाउने विषयमा मन्त्रालयसम्म जानकारी गइसकेको बताए । चाँडै पास हुने र बन्दीले पाउने सिधा बढनसक्ने उनले बताए । मोरङ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको भन्दै उनले निकट भविष्यमा थप संरचनाहरु विस्तार हुँदै जाने बताए । उनले बन्दीहरुलाई रचनात्मक क्रियाकपाहरु गर्न जोड दिए ।
कार्यक्रममा जेलर प्रेमप्रसाद सापकोटा र चौकीदार अभिषेक गिरीले बोलेका थिए । (खबर पूर्वाञ्चल बाट)
Post a Comment