खोटाङ, चैत ११ गते । रातो तारा डट कम,लामो समयसम्म आँखाका जटिल समस्या खेपिरहेका जिल्लाका ११४ जना बिरामीको जटिल शल्यक्रिया गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा जिल्ला अस्पताल दिक्तेल र प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा आयोजना गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरका क्रममा ११४ जनाको सफल शल्यक्रिया गरिएको हो ।
बिहीबारदेखि दिक्तेलमा शुरु गरिएको तीनदिने निःशुल्क आँखा उपचार शिविरमा आँखामा जालो पर्ने, मोतिया बिन्दु लगायतका समस्या भएका ७६ जनाको तथा चैत ४, ५ र ६ गते ऐँसेलुखर्कमा गरिएको निःशुल्क आँखा उपचार शिविरमा ३८ को शल्यक्रिया गरिएको संघका सचिव इन्द्र कसजूले बताउनुभयो । जिल्ला अस्पतालमा ७५१ र ऐँसेलुखर्कमा ४८१ को आँखाको जाँच गरिएको नेपाल संघले जनाएको छ ।
आँखा उपचार शिविरमा डा टी छिरिङवाङ्चुङ भुटिया लगायतका १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गर्नुभएको सचिव कसजूले बताउनुभयो । आँखाका बिरामीका लागि जिल्लाको तीन ठाउँमा प्राथमिक उपचार भए पनि शल्यक्रिया भने हुन सकेको थिएन ।
Post a Comment