काठमाडौ, चैत्र १२ गते । रातो तारा डट कम,
झापा - चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् ।
कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।
प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारवाहीमा परेका चालकबाट उक्त राजश्व संकलन भएको हो । चालू आवको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार ९०० सवारी चालक कारवाहीमा पर्दा रु ५० लाख ९९ हजार राजश्व संकलन भएको हो ।
फागुन महिनामै दुई हजार एउटा मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु १५ लाख ३० हजार ५०० राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार ५१८ वटा ट्रक कारवाहीमा पर्दा रु १९ लाख ३८ हजार ५०० राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमध्ये ७६२ वटा कार, जिप, भ्यानका चालक कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु पाँच लाख ९० हजार राजश्व संकलन गरेको छ ।
यता ६३२ वटा बस चालक करवाहीमा पर्दा रु चार लाख ३५ हजार राजश्व संकलन भएको छ । पाँच सय ८५ ट्र्याक्टर चालक कारवाहीमा पर्दा रु तीन लाख ८४ हजार ५०० राजश्व संकलन भएको बताइएको छ । त्यस्तै ४११ वटा ट्याम्पु र इ–रिक्सा कारवाहीमा पर्दा रु दुई लाख ४२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आव ट्राफिक प्रहरीले रु तीन करोड १० लाख ६० हजार राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार ६२७ सवारी चालक कारबाहीमा परेका थिए । गत वर्ष पनि सबैभन्दा बढी दुई पाङ्गे्र सवारी अर्थात् मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार २५३ वटा मोटरसाइकल चालक कारवाहीमा परेका थिए ।
वर्षेनी सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लङ्घन गर्नुले बढी सवारी चालक कारवाहीमा पर्ने गरेको प्रहरी निरीक्षक राईको भनाइ थियो । उहाँले राससलाई भन्नुभयो, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”
मापसे जरिवानामाबाट नौ लाख:-
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ तर पनि अटेरी गर्दै मादक पदार्थ सेवन गर्ने र सवारी साधन चलाउने ९१३ चालकलाई गरिएको कारवाहीबाट ट्राफिक प्रहरीले चालू आवको १० महिनामा रु नौ लाख १३ हजार राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित जाँच र छड्के जाँचका क्रममा कारवाहीमा पर्ने सवारी चालकमध्ये सबैभन्दा बढी मोटरसाइकल चालक नै रहेका छन् । मादक पदार्थ सेवन गर्ने ६९९ मोटरसाइकल चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
धमाधम जनचेतना तर व्यवहारमा शून्य
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
चालू आवमा मात्रै ट्राफिक प्रहरीले तीन हजार ३९३ विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको
छ । २३ वटा विभिन्न विद्यालयमा प्रहरीले फरक फरक मितिमा कार्यक्रम गर्दै चेतना अभिवृद्धि गरे पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।
ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।
Post a Comment