काठमाडौ, चैत्र ११ गते । रातो तारा डट कम,
श्याम राई- गाईघाट, सुनसरीको प्रसिद्ध धार्मिक स्थल वराह क्षेत्र दर्शन गर्न आउने भक्तजनको सुविधाको लागि सप्तकोशीमा आईतबारदेखि जेटबोट संचालनमा आएको छ ।
उदयपुरको बेलका र सुृनसरीको बराह क्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले सप्तकोशीमा व्यावसायिक रुपमा जेटबोट संचालनमा ल्याएका हुन् । स्थानीय आठ जना युवाहरुले बाराह क्षेत्र यातायात तथा पर्यटक सेवा नामक कम्पनी दर्तागरि सप्तकोशीमा जेटवोट संचालन गरेको बेलका नपाका मेयर दुर्गा थापाले भने ।
तिन दिन अघि आईपुगेको जेटबोट आईतबार देखि व्यावसायिक रुपमा संचालन हुन थालेको उनले बताए । ‘ शनिबार परिक्षणको रुपमा बराहा क्षेत्र सम्म यात्रा गर्यौ । आईतबार सेवा सुरु भएको छ ।’ उनले भने ।
चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्न यात्रु तथा पर्यटकलाई लक्षितगरि जेटबोट संचालन गरिएको संचालक संतोष भण्डारीले बताए ।
उनले करिब ३ करोडको लागतमा भारतको पुनाबाट जेटबोट ल्याईएको बताए ।‘ अहिले संचालन भैरहेको जेटबोटमा ३० जना यात्रु चढाउने क्षमता रहेको छ ।’ भण्डारीले भने । यात्रु र समान सहित ३५ सय किलो लैजान सकिने क्षमता भएकोले हाललाई २५ जना यात्रु र उनीहरुको सामान्य लगेज मात्र चढाईने उनले बताए ।
सप्तकोशीमा पाँच वर्ष अघि पनि सुम्निमा जल यातायातले जेटबोट संचालनमा ल्याएको थियो । तर असुरक्षाको कारण संचालनमा आएको १ वर्ष नवित्दै उक्त जेटबोट बन्द भएको थियो । सप्तकोशीमा जेटबोट संचालनले दुबै जिल्लाको पर्यटन प्रवद्धनमा टेवा पुग्ने अनुमान गरिएको छ ।
Post a Comment